फर्कियो आँखाको ज्योति

  जेठ २८, २०८०

काठमाडौँ, २८ जेठ : नेपाल नेत्रज्योति सङ्घ र गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पताल र स्थानीय तहको संयुक्त आयोजनामा डोटीका दुई र अछामको एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो । तीन वटा आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले जानकारी दिनुभयो । शिविरमार्फत एक सय ८८ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीले निःशुल्क शल्यक्रिया गराएका छन् । न्यून दृष्टि देखिएका चार सय ५२ बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया