स्वास्थ्यमन्त्रीद्वारा हेटौँडा अस्पतालको अनुगमन

  जेठ २५, २०८०

हेटौँडा, २५ जेठ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गर्नुभएको छ । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गर्नुभएको हो ।

उहाँहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालयलगायतको अनुगमन गर्नुभएको थियो । अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उहाँहरूले जानकारी लिनुभयो ।

अस्पतालमा उपचार गरिरहेका सर्वसाधरणका समस्या, गुनासा सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्यासमेत समाधान गर्ने सङ्घीय स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो । देशैभरका स्वास्थ्यकर्मीको समस्या बढेको उल्लेख गर्दै उहाँले हेटौँडा अस्पतालमा पनि त्यस्ता समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्री बस्नेतले गरिब परिवारका लागि १० प्रतिशत शय्या निःशुल्करूपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि निर्देशन दिनुभयो । अहिले पनि स्वास्थ्यकर्मी सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकमा धेरै समय बस्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहुँचका आधारमा कर्मचारी खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने त कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ ।”

हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटाले हेटौँडा अस्पताल हाल सरकारीस्तरबाट ५० शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समितिमार्फत भने अरु एक सय ५० शय्या थप गरेर सञ्चालन गरिएको बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया