रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर

  जेठ २२, २०८०

रुकुम २२, जेठ : रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको हो । आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रूपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुआत गरिएको उहाँको भनाइ छ । आज जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सर्जिकल सेन्टरको उद्घाटन गर्नुभएको हो । सर्जिकल स्थापनासँगै अब जिल्लामा आँखामा हुने विभिन्न समस्याको शल्यक्रिया हुनेछ ।

मोतियाविन्दु, जलविन्दु, आर्सनली बन्द भएको, मासु पलाएकोलगायत समस्याको शल्यक्रिया हुने इन्चार्ज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ३० लाख ५० हजारमा आँखा सर्जिकल सेन्टरको स्थापना भएको हो । आर्थिक वर्ष ०७७/०७८ मा कर्णाली प्रदेशअन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु १० लाख, मुसीकोट नगरपालिकाको रु पाँच लाख र राप्ती आँखा अस्पताल दाङको रु दुई लाख गरी रु १७ लाखमा अपरेटिङ माइक्रोस्कोप खरिद गरिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा मुसीकोट नगरपालिकाको रु तीन लाख, बाँफिकोट गाउँपालिकाको रु तीन लाख, कर्णाली प्रदेशअन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु पाँच लाख, त्रिवेणी गाउँपालिकाको रु दुई लाख ५० हजार गरी रु १३ लाख ५० हजारमा जेनेरेटर, स्लेटल्याम्प, शल्यक्रिया गर्ने ओडिसेट, एसी खरिद गरिएको थियो ।

आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले अर्को आर्थिक वर्षदेखि सर्जिकल सेवाको सुरुआत गरिनेछ । विसं २०६८ मा आँखा उपचार केन्द्रको स्थापना भएको १२ वर्षपछि जिल्लामा आँखा सर्जिकल सेन्टरको स्थापना भएको हो । अब आँखा शल्यक्रियाका लागि दाङ, भैरहवा जाने समस्याको अन्त्य भएको छ ।

सर्जिकल सेन्टर स्थापना र आँखा उपचार केन्द्रलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान पनि गरिएको छ । बीस व्यक्ति तथा संस्थालाई सम्मान गरिएको नेपाल नेत्रज्योति सङ्घ रुकुम पश्चिम शाखा सभापति शिवराम खत्रीले जानकारी दिनुभयो । (रासस)

तपाईको प्रतिक्रिया