धनुषामा विपद् पूर्वतयारी

  जेठ २०, २०८०

जनकपुरधाम, २० जेठ : प्रचण्ड गर्मी छल्न अहिले जनकपुरधामका युवा नजिकैको गङ्गासागरमा नुहाउन जान्छन् । यसै क्रममा आज नुहाउन गएका तीन युवा पौडी खेल्न नजानेर पानीमा डुब्छन् ।

यो खबर पाएलगत्तै जिल्ला आपत्तकालीन कार्य सञ्चालन केन्द्र धनुषाले खटाएका तीनवटै सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्मीले सुरक्षित रुपमा उद्धार गर्छन् । सोही गङ्गासागरमा रबरबोटमा केही युवा आउँछन् । त्यो रमाइलो पललाई टिकटकमा कैद गर्न व्यस्त युवाले सावधानी नअपनाउँदा डङ्गा सन्तुलन गुमाएर बीच भागमा पल्टिन्छ । डुब्दै गरेका युवा जीवन रक्षाको याचना गर्छन् । यो खबर एकैछिनमा सबैतिर फैलिन्छ र मोटरसहितको डुङ्गा लिएर सुरक्षाकर्मी घटनास्थलमा पुग्छन् ।

त्यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जल्लाद खोलामा अचानक बाढी आउँदा केही व्यक्ति डुबिरहेको खबर आउँछ । सुरक्षाकर्मीले तत्कालै उद्धार त गर्छन् तर फर्किने क्रममा आफैँ दुर्घटनामा पर्छन् । त्यस्तो विषम परिस्थितिमा पनि उद्धार टोलीले रबरबोटमा रहेको ‘रिलिफ लाइन’ को प्रयोगगरी सामान्य अवस्थामा ल्याउँछन् र पीडितलाई सुरक्षित स्थानतर्फ लिन्छन् । डुबानका घटना सेलाउन नपाउँदै अविरल वर्षाका कारण जिल्लाको मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित मुसहर्निया टोलमा जमुनी खोलाको बाँध फुटेर एक्कासि आएको बाढीले घरैसहित केही मानिसलाई बगाउँछ ।

केही समयपछि तालिम प्राप्त उद्धारकर्मी घटनास्थलमा पुगी नागरिकको उद्धार गर्छन् । जनकपुरधामस्थित गङ्गासागरमा आज यस्तै कृत्रिम अभ्यास गरियो । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप विपद्बाट जोगिन ‘विपद् पूर्वतयारी तथा राहत वितरणसम्बन्धी अभ्यास’का क्रममा यस्ता घटना देखाइएका थिए । घटना कृत्रिम भए पनि तराई–मधेशका अधिकांश जिल्लामा हरेक वर्षायाममा यस्तै दुखद खबर सुनिन्छन् ।

बाढीका दृष्टिकोणले निक्कै जोखिममा रहेको धनुषामा पनि प्रत्येक वर्ष वर्षातको समयमा विभिन्न नदीका बाँध फुटेर धेरै गाउँ बस्ती डुबानमा पर्ने गरेका छन् । मुख्यगरी कमला, जमुनी, औरही, वडहरि, बसही तथा जल्लाद खोलामा आउने बाढीले बर्सेनि ठूलो धनजनको क्षति हुँदै आइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार यहाँका १८ स्थानीय तहमध्ये जनकनन्दनी, मुखियापट्टी मुसहरनिया र धनौजी गाउँपालिका तथा कमला, सबैला, शहीदनगर र नगराइन् नगरपालिका गरी सात स्थानीय तह उच्च जोखिममा छन् । औरही गाउँपालिका तथा धनुषाधाम, गणेशमान चारनाथ र विदेह नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिका गरी पाँच मध्यम जोखिम र मिथिला, मिथिला बिहारी, हंसपुर एवं क्ष्ीारेश्वरनाथ नगरपालिका तथा लक्ष्मिनियाँ र बटेश्वर गाउँपालिका गरी छ स्थानीय तह न्यून जोखिममा छन् ।

मौसमविदको आकलन अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को परिच्छेद ८ नियम १८ उपनियम ३ को खण्ड (क) र (घ) बमोजिम विपद् पूर्व तयारीअन्तर्गत आज प्रदर्शनी आयोजना गरिएको हो । जनकपुरधामको गङ्गासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय सेवादलको सहभागितामा पूर्व तयारी स्वरूप अभ्यास गरिएको हो । त्यसक्रममा रबरबोट, डोरी, लाइफ ज्याकेटसहितका सामग्रीको प्रयोग गरिएको थियो ।

गतवर्ष मात्रै धनुषामा बाढीसहित अन्य विपद्जन्य प्रकोपका कारण दुई सय ३० घटना भएको र विपद्का विभिन्न घटनामा परी १० जनाको ज्यान जानुका साथै रु १३ करोडभन्दा बढी सम्पत्तिको क्षति भएको प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

उहाँले विपद्बाट जोगिन स्थानीय तहसँग मिलेर सबै प्रकारको तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले बाढी तथा डुबानको जोखिमबाट जोगिन यहाँका हरेक युवा तथा बालबालिकालाई खोला, नदी तथा पोखरीमा पौडी सिकाउन आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बाढी, डुबान तथा आगलागीबाट धनुषामा वर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले हरेक पालिकाले वारुणयन्त्र खरिद गर्नुका साथै विपद् उद्धार सामग्रीको व्यवस्थापनमा जोड दिनुभयो । जिल्लाको महेन्द्रनगरस्थित नेपाली सेनाको गोरखनाथ गणका प्रमुख सेनानी सुरेश देवकोटाले यस पटक विपद्जन्य अवस्थाको सामना गर्न नदी तथा खोलाको स्थलगत अनुगमन गरिएको बताउनुभयो ।

तीनै सुरक्षा अङ्गले जनताको ज्यानको रक्षाका लागि आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि विपद् प्रतिकार्यमा खटिँदै आएको र आगामी दिनमा हुने त्यस्ता घटनामा सबैको सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो । (रासस)

तपाईको प्रतिक्रिया