पैयुँ आधारभूत अस्पतालमा एक्स–रे सेवा सुरु

  जेठ २०, २०८०

पर्वत, २० जेठ : पर्वतको दक्षिण भेगको पैयुँ गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको पहलमा यहाँ रहेको आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विभागमार्फत मोबाइल डिजिटल एक्स–रे मेशिन प्राप्त भएसँगै सेवा सुरु गरिएको हो । शुक्रबार यहाँ आयोजित एक कार्यक्रमबीच पूर्वस्वास्थ्यमन्त्री गिरीले गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीलाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत पथलैया स्टोर, बाराले रू एक करोड ४४ लाख ८२ हजार एक सय ६६ मा खरिद गरेको मोबाइल डिजिटल एक्स–रे मेशिन अस्पताललाई हस्तान्तरण भएलगत्तै बिरामीलाई सेवा दिन थालिएको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

गाउँपालिकामा डिजिटल भिडियो एक्स–रे सुविधा नहुँदा स्थानीय स्याङ्जा, पोखरा र पाल्पा जानुपर्ने बाध्यता थियो । स्थानीयस्तरमै डिजिटल सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् । एक्स–रे सेवाबाट पैयुँ, महाशिला र विहादी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।

अध्यक्ष ठकुरीका अनुसार यसै सातादेखि सञ्चालनमा आएको आधारभूत अस्पतालबाट चौबिसै घन्टा आकस्मिक सेवासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, फार्मेसी सेवालगायत सेवा प्रदान भइरहेका छन् । “अबदेखि एक्स–रे सेवा पनि अस्पतालमा हुनेछ”, उहाँले भन्नुभयो । अध्यक्ष ठकुरीले पालिकास्तरीय आधारभूत अस्पतालका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको अभाव हुन नदिने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको उल्लेख गर्नुभयो ।

अस्पताल नहुँदा अहिलेसम्म यस क्षेत्रका नागरिक सामान्य उपचारका लागि पनि स्याङ्जाको वालिङ, बुटवल, पाल्पा, पोखरालगायत सहरमा जान बाध्य भएका थिए । पालिकामै आधारभूत अस्पतालको सेवा शुभारम्भ भएपछि यहाँका नागरिकले राहतको महसुस गरेका छन् ।

“यस क्षेत्रमा अस्पताल नहुँदा यहाँका नागरिकहरु सानो चोटपटक लाग्दा पनि अन्यत्र जान बाध्य थिए”, पैयुँ गाउँपालिका–१ टकलाकका वडाअध्यक्ष मीनप्रसाद न्यौपानेले भन्नुभयो, “अब पालिकावासीको हितमा विकास निर्माण र स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी रुपले अघि बढाइनेछ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल स्थापना गर्ने सरकारको निर्णयअनुसार अस्पताल निर्माण गरिएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार बनिनसकेको अवस्थामा मौजुदा पूर्वाधार र मौजुदा जनशक्ति र अन्य जनशक्ति पालिकाका तर्फबाट ब्यहोर्ने गरी यहाँका जनताको आवश्यकता, चाहना र स्वास्थ्य सेवालाई दृष्टिगत गरेर सेवा शुभारम्भ गरेको उहाँको भनाइ छ ।
रासस

तपाईको प्रतिक्रिया