ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

  जेठ २०, २०८०

काठमाडौँ, २० जेठ : ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु सघन उपचार कक्ष मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गरेको ग्रान्डीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु सेवा प्रदान गरेको हो । आइसियु सेवा प्रदान गरेको १० पूरा भएको अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखाप्रमुख डा सुवास आचार्यले ग्रान्डीले आइसियु सेवा प्रदान गरिएका बिरामीमध्ये ६ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भइएको बताउनुभयो । आइसियुमा भर्ना हुने बिरामीमध्ये ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका छन् ।

ग्रान्डीले कोरोना महामारीको समयमा सात सय ४३ बिरामीलाई आइसियुमार्फत सेवा प्रदान गरेको थियो । जसमध्ये ८० प्रतिशत बिरामीलाई बचाउन सफल भएको डा आचार्यले बताउनुभयो । ग्रान्डीले गत वर्षबाट चिकित्सा शिक्षा आयोगबाट ग्रान्डीले आइसियु फेलोसिप प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपालमै अन्तरराष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी स्थापना गरिएको बताउनुभयो । उहाँले सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।

“नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालनमा ल्याएका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्रान्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो”, अध्यक्ष कुँवरले भन्नुभयो ।
रासस

तपाईको प्रतिक्रिया