स्वास्थ्यचौकी भवन निर्माण अलपत्र ः सेवा प्रवाहमा समस्या

  जेठ १०, २०८०

खोटाङ, १० जेठ : हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ ।
ठेकेदार कम्पनीले विसं २०७८ फागुन–२७ गतेसम्ममा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते सम्झौता गरेको थियो । दुई पटक थप भएको म्याद गुज्रिदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ ।
अर्कातर्फ निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्यचौकी भवनको पर्खाल ठेकेदारको लापरबाहीले कमसल बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको स्थानीय कुबेर राईले बताउनुभएको छ ।
पहिलो पटक थप भएको म्याद विसं २०७९ असार–३२ गते र दोस्रो पटक थप भएको म्याद विसं २०७९ माघ–२ गते सकिएपछि ठेकेदारले पुनःआगामि असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका इन्जिनियर शुशिल चौधरीले बताउनुभएको छ । ठेकेदारका प्रतिनिधिले स्वास्थ्यचौकी भवन निर्माण गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र निर्माणको काम अघि बढ्ने बताउने गरेका छन् ।
साउदी सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मङ्गलटार, बतासे, राखाबाङ्देल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकीको भवन निर्माणको काम शुरु गरिएको थियो । गौरी–पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक रु सात करोड ४० लाख ८४ हजार २९६ मा जिल्लाका पाँचवटा स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो ।
समग्रमा जिल्लामा निर्माणाधीन पाँचै स्वास्थ्यचौकीको भौतिक प्रगती करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ४७÷४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताउनुभएको छ । ठेकेदारले समयमा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न नगर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् ।
बाहुनीडाँडामा स्थानीय झोक्रे राईको घरको दुई साँघुरो कोठा भाडामा लिएर स्वास्थ्यचौकीको सम्पूर्ण सेवा प्रवाह सञ्चालन हुँदै आएको छ । बाहुनीडाँडामा यसअघि तत्कालीन गाउँ विकास समिति (गाविस)को जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो ।
गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम शुरु गरिएपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको जनाइएको छ । भाडामा लिइएको घरको कोठामा दुईवटा मात्र कुर्सी अटाइएका छन् ।
एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका प्रमुख लीलामायाँ लामीछाने बताउनुभयो । “सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटी तीन÷चारजना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन”, उहाँले भन्नुभयो, “कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गाह्रो भइरहेको छ ।”
महिला÷पुरुषका लागि अलग–अलग कोठामा राखेर सेवा दिने ठाउँ नहुँदा झनै समस्या भएको लामीछानेले बताउनुभयो । “व्यक्तिगत गोपनीयता कायम गर्न असहज छ । स्वास्थ्यचौकीको भाडामा मासिक रु पाँच हजार खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही टाढाको दूरीमा राखिएको छ । विसं २०७५ सालदेखि मासिक रु चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो रहेको छ ।
स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्रबहादुर राई बताउनुभएको छ । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पूरा पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । (रासस)

तपाईको प्रतिक्रिया