गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक

  बैशाख ३१, २०८०

मुग्लिन, ३१ वैशाख : लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन् ।

गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा सबैभन्दा धेरै गाईगोरु मरेका छन् । वडा नं १ मा मात्र ११ वटा गाईगोरु मरेका छन् । वडा नं २ मा १० र वडा नं ७ मा दुईवटा मरेका छन् । उहाँका अनुसार गाउँपालिकाको सातवटै वडामा फैलिएको यस रोगबाट पाँच सयभन्दा बढी गाईगोरु बिरामी परेका छन् ।

प्रमुख विकका अनुसार किसानबाट जानकारी पाउनासाथ पशु चिकित्सक डा सुनिल ज्ञवालीसहितको प्राविधिक टोलीहरु किसानको गोठ–गोठमा पुगेर आवश्यक उपचार र परामर्श दिन सुरु गरेका थिए । प्रत्येक वडामा प्राविधिक खटाई हरेक दिन उपचार र विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चारमाध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर पशु चिकित्सक र प्राविधिकहरु खटाई उपचार र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा पुगेको पशु सेवा शाखाका प्रमुख विकले बताउनुभयो ।

यस रोगको ठोस उपचार नभएकाले सङ्क्रमित गाईभैँसीलाई मृत्युबाट बचाउन लक्षणमा आधारित उपचार गर्नेे र सङ्क्रमण फैलन नदिनका लागि गाईभैँसीको ओसारपसार र गोठको सरसफाइ नै मुख्य उपाय रहेको उहाँको भनाइ छ । (रासस)

तपाईको प्रतिक्रिया