कृषकलाई प्राविधिक ज्ञान दिन बारीमै पुगे कृषिका कर्मचारी

  बैशाख ३०, २०८०

दमौली, ३० वैशाख : व्यावसायिकरुपमा खेती गरिरहेका कृषकलाई प्राविधिक ज्ञान दिन कृषि ज्ञानकेन्द्र तनहुँका कर्मचारी बारीमै पुगेका छन् । सुन्तला र कागती खेती गरिरहेका कृषकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीलगायत प्राविधिक कृषकको बारीमै पुगेका हुन् ।

ऋषिङ गाउँपालिका–३ दुवुङमा सुन्तला खेती गरिरहेका कृषक तिलबहादुर थापा र देवघाट गाउँपालिका–२ खाल्टेमा कागती खेती गरिरहेका कृषक मनिष मल्ललाई भेटेर उक्त खेतीका सम्बन्धमा गर्नुपर्ने प्राविधिक ज्ञानका बारेमा जानकारी गराइएको तिवारीले जानकारी दिनुभयो ।

तिवारीले भन्नुभयो, “कृषक कार्यालयसम्म आउनुपर्ने बाध्यता र ज्ञानको अभावमा खेती राम्रो नहुने भएकाले सम्बन्धित ठाउँमै पुगेर प्राविधिक ज्ञान दिइएको हो, यसले गर्दा कृषकलाई पनि सहज हुन्छ ।”

ऋषिङ–३ का थापाले छ रोपनी क्षेत्रफलमा दुई सय ५० बोट सुन्तला खेती गर्नुभएको छ । सुन्तला खेतीका लागि उहाँले मल्चिङ प्रविधि अपनाउनुभएको छ । मल्चिङ गर्दा सुन्तलाका बोट राम्रो हुने भएकाले प्राविधिकको सल्लाहबमोजिम नै मल्चिङ गरिएको थापाले बताउनुभयो । “कृषि ज्ञान केन्द्रले गत वर्ष तालिमका क्रममा सुन्तला खेतीमा मल्चिङ गर्दा हुने फाइदाका बारेमा सिकाएको थियो, सोही प्रविधि अपनाएर यो वर्ष खेती गरिएको छ”, थापाले भन्नुभयो ।

ज्ञान केन्द्रका प्रमुख तिवारीले मल्चिङ गरेको प्रविधि एकदम राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तालिममा पनि यसबारेमा भनेका थियौँ, तालिमअनुसार मल्चिङ भएको रहेछ, यो क्षेत्र दक्षिण भाग रहेकाले सुख्खायाममा पानीको अभाव हुन्छ, यसलाई अभियानकैरुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

कृषिमा प्राविधिकको नियमित अनुगमन महत्वपूर्ण रहेको जनाउँदै तिवारीले भन्नुभयो, “हरेक स्थानीय सरकार र प्रदेश सरकारबाट अनुगमन भए कृषकलाई हौसला मिल्नेछ, कृषकलाई सुधार गर्न सजिलो हुन्छ ।”

देवघाट–२ का मल्लले २० रोपनी क्षेत्रफलमा छ सय बोट कागती खेती गर्नुभएको छ । मल्लले कागती खेती गरे पनि काँटछाँटको समस्या हुँदा झाडी भएकाले त्यसलाई व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
रासस

तपाईको प्रतिक्रिया