मकैको बीउ वृद्धि अभियान

  बैशाख २१, २०८०

बलेवा, २१ वैशाख : कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भएअनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताउनुभयो ।

चालु वर्षमा तीन दशमलब पाँच मेट्रिकटन बीउ उत्पादन भइसकेको छ । आगामी वर्षसम्म जिल्लाको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियोे । गत वर्षदेखि २५ हेक्टर जमिनमा बीजवृद्धि कार्यक्रम थालिएकाले आवश्यक बीउ पु¥याउन सकिने प्रमुख भट्टराईले बताउनुभयो । उत्पादित बीउ भण्डारणका लागि काठेखोला गाउँपालिकामा २० टन, जैमिनीमा २० टन र बरेङमा १० टन क्षमताको भवनसमेत निर्माण गरिएकोे छ ।

त्यस्तै बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडामा गत वर्ष नै ३० टन क्षमताको भवन बनिसकेको छ । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुने उहाँले बताउनुभयो । बीज वृद्धिका लागि गणेश र मनकामना जातको मकै बढी लगाइने गरिएको छ ।

हावापानीको हिसाबले बागलुङको अधिकांश स्थान मकै उत्पादनका लागि अब्बल स्थान मानिएको छ । “राम्रो उत्पादन हुने भएकोले मकैको बीउ तथा बाली उत्पादन बिशेष कार्यक्रम नै सञ्चालन गरिएको छ” बाली विकास अधिकृत दिनेश पाठकले भन्नुभयोे, “गण्डकी प्रदेश सरकारले पनि बीउ उत्पादनका लागि लगानी गरेको छ ।” चालु आर्थिक वर्ष गण्डकी सरकारको रु पाँच करोड बजेटबाट उन्नत बीउ उत्पादन गर्ने लक्ष्य रहेको र सो रकमबाट बागलुङमा मात्रै रु ४८ लाख लगानी गरिएकोे उहाँले बताउनुभयो ।

सङ्घीयता लागू गर्दा हटेका तत्कालीन कृषि कार्यालय ज्ञान केन्द्रको रुपमा स्थापित हुन चार वर्ष लागेकाले बीउ उत्पादनमा असर परेको थियो । विज्ञ नभएको र पालिका तहमा सामान्य कृषि प्राविधिक मात्र आउँदा बाली विकास र उत्पादन बढाउने योजना बनेका थिएनन् ।
रासस

तपाईको प्रतिक्रिया