मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति

  बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा समस्या आएको बताउनुभएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आज २०औँ वार्षिकोत्सवको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने पुरातन दृष्टिकोणको कारण समस्या अझ बढी संवेदनशील बन्दै गएको बताउनुभयो । उहाँले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले सो पूरा गर्नका लागि सरकारको योजनामा गैरसरकारी क्षेत्रको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदार सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “मानसिक स्वास्थ्यको क्षेत्रमा सरकार र गैरसरकारी क्षेत्र मिलेर काम गर्नुपर्दछ । अझ जेल जीवन बिताइरहेका व्यक्तिको मानसिक स्वास्थ्यमा समेत सरकारले ध्यान दिन जरुरी छ,” उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले आत्महत्या रोकथाम र सहरी विकासअन्तर्गत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसलाई सचेतना फैलाउनु र भ्रम निवारण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई सरकारले अझै प्राथमिकतामा राखी काम गर्ने बताउनुभयो ।

केन्द्रका प्राविधिक निर्देशक डा पशुपति महतले आफूले सरकारसँग मानसिक स्वास्थ्य सेवामा हातेमालो भएर काम गरिरहेको बताउनुभयो । उहाँले केन्द्र सन् २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिकमा काम गर्दै आइरहेको उल्लेख गर्दै हालसम्म ५१ जिल्लाका दुई सय छ स्थानीय तहमा काम गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया