काठमाडौँ, १ वैशाख : राष्ट्रिय समाचार समिति, राससमा नयाँ वर्ष २०८० का उपलक्ष्यमा आज रासस केन्द्रीय कार्यालय काठमाडौँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो ।
सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले समाचार सेवाको विविधतासहित गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेवाग्राही आमसञ्चार माध्यमबाट प्राप्त सुझावलाई समेत मध्यनजर गरी समाचार सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गरी नयाँ ऊर्जा र अठोटका साथ छिटोछरितो ढङ्गबाट समाचार तथा फोटो सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउँदै आएको राससको सेवा अझ प्रभावकारी र विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको आमसञ्चार क्षेत्रमा राससको विशिष्ट योगदान र स्थान रहेको उहाँले बताउनुभयो । उहाँले आजका दिन कुनै सञ्चारमाध्यममा पुगेर सञ्चारकर्मी साथीहरुसँग शुभकामना आदानप्रदान गर्ने सोच बनाएको र यस क्रममा आफ्नो रोजाइमा रासस परेको जानकारी दिनुभयो ।
सो कार्यक्रममा प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, आलेख समाचार प्रमुख कृष्ण अधिकारीलगायत विभागीय प्रमुख एवं राससका सञ्चारकर्मी तथा कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।
सो अवसरमा यस वर्ष नेपाल सरकारबाट विभूषण प्राप्त गर्ने राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, भरतपुर कार्यालय चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र भीमदत्तनगर कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शेरबहादुर सिंहलाई बधाई ज्ञापन गरिएको थियो । रासस






