स्थानीय ‘मिडिया’ संरक्षण गर्नुपर्छ : अध्यक्ष झा

  चैत २८, २०७९

भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धमेन्द्र झाले सूचनाका माध्यमबाट स्थानीयस्तरमा सूसुचित गर्ने ‘मिडिया’लाई स्थानीय तहले संरक्षण गर्नुपर्ने बताउनु भएको छ ।

आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले नेपालको स्थानीय मिडियालाई सबैले मेरो मिडिया भनेर स्वीकार्नुपर्ने बताउनुभयो । अध्यक्ष झाले भन्नुभयो, “मिडिया जहिले राष्ट्रिय हुनुपर्छ भन्छन् तर मिडिया जहिले पनि स्थानीय हुन्छ, हुनुपर्छ, स्थानीयले स्वीकार्नुपर्छ । नेपालको स्थानीय मिडिया बाँच्नुपर्छ र बचाउनुपर्छ ।”
जनतालाई सूसुचित गराउने कुरामा मिडियाको भूमिका हुने बताउँदै उहाँले विभिन्न मिडियामार्फत आएका समाचार आफ्नैमा पोजेटिभ र नेगेटिभ भन्ने नहुने उहाँको भनाइ थियो ।

“मिडियालाई अझै धेरैले बुझ्न जरुरी रहेको छ, मेरो पक्षमा समाचार आए पोजेटिभ, मेरोविरुद्ध समाचार आए नोगेटिभ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ”, रासस अध्यक्ष झाले भन्नुभयो, “समाचार समाचार नै त्यो आफैँमा नेगेटिभ र पोजेटिभ भन्ने हुँदैन, आएको समाचारलाई आम पाठकले कसरी बुझ्छन् भन्ने कुरा महत्व हो ।”

मिडिया छ र त आज समाचार छ, मिडिया नभए समाचार कसरी थाहा पाउने भन्दै उहाँले मिडियाको अवधारणा र गलत बझाइलाई बदल्नु आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालमा मात्रै नभई विश्वमै भक्तपुरको चिनारी प्रसिद्ध रहेको बताउँदै उहाँले आफँैसँग रहेको बिनाको गन्ध पहिचान गर्न नसकेर कस्तुरीले बिना खोज्दै हिँडेजस्तो भक्तपुरले पहिचान खोज्दै हिँड्नु आवश्यक नरहेको बताउनुभयो ।

भक्तपुरका चार वटा नगरपालिका आफैँमा सांस्कृतिक, प्राकृतिक मनोरम र पहिचान बोकेको स्थानीय तह भएकाले भक्तपुर जिल्लालाई एकीकृतरुपमा सांस्कृतिक जिल्ला र पर्यटकीय प्याकेजको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष झाले मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतका विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभयो ।

त्यसअवसरमा बागमती प्रदेशसभाका सांसद किरण थापा, नेकपा ९एमाले०का जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख श्रेष्ठ, नमस्ते ख्वप टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सोही टेलिभिजनका कार्यकारी निर्देशक ऋषिकेश श्रेष्ठलगायत विभिन्न व्यक्तित्वले नमस्ते ख्वप टेलिभिजनले शिक्षा, स्वास्थ्य, कला, संस्कृतिलगायतको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा विभिन्न नृत्य, गीत र फेसन शोहरु प्रस्तुत गरिएको थियो ।

राससकर्मी श्रेष्ठको फोटो प्रदर्शनी

त्यस्तै अध्यक्ष झाले राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो प्रदर्शनीको अवलोकन गर्नुभएको छ । सोही कार्यक्रममा राससकर्मी श्रेष्ठले बिस्केट जात्राको बारेमा यसअघिका जात्रामा लिएका ९० वटा तस्बिरको प्रदर्शनी गरिएको थियो ।

उक्त प्रदर्शनीको अध्यक्ष झालगायत अन्य अतिथि र सहभागीले अवलोकन गर्नुभएको थियो । अध्यक्ष झाले फोटो प्रदर्शनीले राससको शान बढाएको बताउँदै यसले भक्तपुरका जात्राको सिङ्गो इतिहास प्रस्तुत गरेको बताउनुभयो ।

प्रदर्शनीका बारेमा फोटो पत्रकार श्रेष्ठले बिस्केट जात्राको अवसर पारेर जात्राका बारेमा जानकारी दिने उद्देश्यले आफूले जात्रामा खिचेका महत्वपूर्ण ९० वटा तस्बिरलाई प्रदर्शनीमा राखिएको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया