काठमाडौँ, २७ चैत : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर लहडमा नउठाएको नभई बारम्बारको प्रयास असफल भएपछि सो निर्णय लिनुपरेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको तस्बिर सार्वजनिक गर्दै मेयर शाहले बाध्य भएर सो कदम उठाउनुपरेको समेत जनाउनुभयो ।
“केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैर जिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष थियो”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ , “जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनुपरेको थियो, उनीहरूलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन ।”
उहाँले सामाजिक सञ्जालमा सिंहदरबारमा फोहोर नउठाउनुको कारणबारे विस्तृतमा यस्तो लेख्नुभएको छ ।
केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैर जिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरूलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन । मिडिया र सर्वसाधारणबाट यो सम्बन्धी धेरै प्रश्नहरू उठेका छन् । प्रश्नहरू स्वाभाविक पनि छन् ।
सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्छ । सङ्घीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।






