बेदकोट, १८ चैत : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले आफ्नो सेवा २४सै घण्टा दिने तयारी गरेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित राससको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै उहाँले राससले २४सै घण्टा सेवा दिने योजना बनाएको जानकारी दिनुभयो ।
“हामी राससको सेवा विस्तार गर्दैछौँ, तीन-चार महिनाभित्र २४सै घण्टा सेवा दिन्छौँ”, उहाँले भन्नुभयो । सुदूरपश्चिम प्रदेशमा मिडिया विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ छ । उहाँले यसका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रस्ताव गरेको जानकारी दिनुभयो ।
“सुदूरपश्चिम प्रदेश सरकारसँग मिडिया विकास तथा अनुसन्धान केन्द्र स्थापनाको प्रस्ताव राखेको छु, मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा प्रदेशस्तरीय प्रमुख मातृभाषामा पनि राससले सेवा दिने योजना बनाएको छ ।”
उहाँले सो अवसरमा राससका ग्राहकलाई सहुलियत शुल्कमा सेवा दिन तयार रहेको स्पष्ट पार्नुभयो । राससले हाल नेपाली र अङ्ग्रेजी भाषामा समाचार उपलब्ध गराउँदै आएको छ । जसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचारका साथै आलेख, तस्बिर र श्रव्यदृश्यसामग्री उपलब्ध छन् । रासस






