खोटाङ, १८ चैत : जन्तेढुङ्गा गाउँपालिकाले आङ (पाठेघर) खसेका महिलाहरूको निःशुल्क उपचार गर्ने भएको छ । गत भदौ र असोजमा स्क्रिनिङ गर्दा आङ खसेको पत्ता लागेका छ जना महिलालाई पहिलोपल्ट निःशुल्क उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको हो ।
गत चैत ११ गते अस्पताल लगिएकामध्ये पाँच महिलाको आङ खसेको समस्याको सफल शल्यक्रिया गरिएको थियो । एक जनाको भने फोक्सोमा समस्या देखिएका कारण पाठेघरको शल्यक्रिया गर्न नसकिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो ।
गाउँपालिकाले आङ खसेका महिलालाई निःशुल्क उपचारको प्रबन्ध मिलाएर अनमी अनिता भट्टराईको साथमा अस्पताल पठाएको जनाइएको छ । पन्ध्र वर्षअघि आङ खसेका ६३ वर्षकी, २० वर्षअघि आङ खसेका ५६ वर्षकी, २५ वर्षदेखि पाठेघर खस्ने समस्याबाट ग्रसित ५४ वर्षकी, ३३ वर्षदेखि पाठेघरको समस्या खेप्दै आएका ५८ वर्षकी महिलाको सफल शल्यक्रिया गरिएको छ ।
गाउँपालिकाले बिरामी र कुरुवासहितलाई अस्पतालसम्म जाने आउने, खाने बस्ने प्रबन्ध मिलाएर उपचारमा पठाइएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । स्क्रिनिङ गर्दा १२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भए पनि छ जना अस्पताल जान नमानेको उहाँको भनाइ छ ।
धेरैजसो महिला आङ खसेको समस्या लुकाएर बस्ने गरेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “अधिकांश महिला समाजमा खुल्न चाहनुहुन्न । कतिपय महिला उपचारमा जान मान्नु भएन । डर मान्नुभयो । हामीले पनि कर गरेनौँ”, उहाँले भन्नुभयो, “जति जना उपचारमा जान तयार हुनुहुन्छ त्यतिलाई मात्र लग्यौँ । उपचार सफल भएपछि त्यो खबर सुनेपछि अरु महिला पनि उपचारमा जान तयार हुनुहुन्छ भन्ने आशा राखेका छौँ ।”
गाउँपालिका प्रमुख राईले निर्वाचित भएर कुर्सीमा बस्दै गर्दा अरुणादेवीले आङ खस्ने समस्या झेलिरहेका विपन्न आमाहरूको निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो । सोही घोषणाअनुसार गाउँपालिका उहाँले आङ खस्ने समस्या भएका महिलाको खोजी गर्दै उपचारका लागि अस्पताल लैजान सुरु गर्नुभएको हो ।
पूर्वी पहाडी जिल्ला खोटाङमा यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ ।
गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखाएको सामाजिक अभियान्ताले बताएका छन् । रासस






