पाथेका स्वास्थ्यचौकीलाई उपकरण प्रदान

  चैत १८, २०७९

खोटाङ, १८ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १० पाथेकामा सञ्चालित स्वास्थ्यचौकीलाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण प्रदान गरेको छ ।

नेपाल सरकार सङ्घीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक थाल कार्डियाक मनिटर र प्रदेश सरकार स्वास्थ्य आपूर्ति महाशाखाले उपलब्ध गराएको १५ थान सेमी अटो एनालाइजर नगरपालिकाले स्थास्थ्यचौकीलाई प्रदान गरेको हो ।

बिरामीको रगतमा अक्सिजनको मात्रा, रक्तचाप, मुटुको गतिलगायत परीक्षण गर्न रु दुई लाख मूल्य पर्ने कार्डियाक मनिटर र रगतको सामान्य अवस्था, बोसोको मात्रा, कलेजो, मिर्गौला, बाथरोग, मधुमेहलगायत परीक्षण गर्ने रु पाँच लाख मूल्यको १५ वटा सेमी अटो एनालाइजर प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

“पाथेकाका स्थानीय बासिन्दालाई सामान्य स्वास्थ्यावस्थाका बिरामी परीक्षण गराउन पनि जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “लामो समयदेखि पाथेकावासीले भोग्दै आएको समस्या समाधान गर्न आधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।”

कार्डियाक मनिटर र सेमी अटो एनालाइजर नगरप्रमुख भट्टराईले वडाध्यक्ष मुगाधन राई र स्वास्थ्यचौकी प्रमुख सन्तोष भट्टराईलाई हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्यचौकी पाथेका जिल्लाको ७९ स्वास्थ्यचौकीमध्ये कार्डियाक मनिटर र एनालाइजरको प्रयोगमा ल्याउने पहिलो स्वास्थ्यचौकी बनेको नगरपालिकाले दाबी गरेको छ ।

स्वास्थ्यचौकी पाथेकालाई उपलब्ध गराइएको स्वास्थ्य उपकरणबाट खार्मी, खार्ताम्छा, फेदी र बास्पानीका स्थानीय बासिन्दासमेत लाभान्वित हुने स्वास्थ्यचौकीका प्रमुख भट्टराईले बताउनुभयो । स्वास्थ्यचौकी पाथेकामा कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण सञ्चालनका लागि पर्याप्त विद्युत् नभएको पाइएको छ ।

स्वास्थ्यचौकी पाथेकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभएको छ । स्वास्थ्यचौकी पाथेका तथा उक्त वडाको सबै घरमा बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म सञ्चालनमा रहेको नाखामखोला लघुजलविद्युत् आयोजनामात्र जडान गरिएको छ । रासस

तपाईको प्रतिक्रिया