पत्रकारमैत्री कानून बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता

  चैत १७, २०७९

काठमाडौँ, १७ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मिडिया र सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ, यसको भूमिका अब प्रणालीलाई विकास गर्ने कुरामा एउटा चुनौती आएको छ ।”

उहाँले आफू करिब चार दशक राजनीतिमा सक्रिय हुँदा वाक स्वतन्त्रताको पक्षमा वकालत गरेको स्मरण गर्नुभयो । सभामुख घिमिरेले समाजलाई परिवर्तनको दिशामा अघि बढाउने सन्दर्भमा क्लबले ठूलो भूमिका निर्वाह गरेको भन्दै क्लबको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “क्लबले वाक स्वतन्त्रतादेखि जनताले सूचना पाउने अधिकारको विषयमा धेरै ठूलो योगदान गरेको छ, क्लबका आउँदा दिन अझ प्रगतिमा जाओस् भन्ने शुभकामना दिन्छु ।”

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले सन्तुलित परराष्ट्र नीति लिनुपर्ने सुझाव दिनुभयो । उहाँले संविधान निर्माणपछिको युगमा प्रवेश गरेपछि समृद्ध मुलुक बनाउनका लागि प्रतिबद्धता जनाए पनि ठूला दलले त्यो काम गर्न नसकेको टिप्पणी गर्नुभयो । नेता खनालले नेपालको आर्थिक क्षेत्र भयावह अवस्थामा रहेको विश्लेषण गर्दै वर्तमान सरकारसामु धेरै चुनौती रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा गणेश पराजुलीले अहिलेको पुस्ताले खोजिरहेको परिवर्तनलाई आफूहरूले सम्भव बनाउने विश्वास व्यक्त गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको सरकारको काँधमा अर्थतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी रहेको सुनाउँदै सरकारले पूर्णता पाएसँगै मुलुकको अर्थतन्त्र सुधार हुने विश्वास व्यक्त गर्नुभयो । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुक बनाउन सरकारले गरेका काममा क्लबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया