लुम्बिनी, १६ चैत : बुटवल उपमहानगरपालिका र विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरूसँग बुटवलको विकासबारे छलफल भएको छ ।
उपमहानगरपालिकामा आज आयोजित छलफलमा बुटवलका तर्फबाट आठवटा योजना प्रस्ताव गरिएको छ । नगरप्रमुख खेलराज पाण्डेयले पूर्वाधार निर्माणका लागि योजना प्रस्ताव गर्नुभयो ।
उहाँले बुटवलको एक सय ५० किलोमिटर आन्तरिक सडक, मुख्य र सहायक मार्गको एक सय ३५ किलोमिटर खुला नाली निर्माण, तिनाउ नदी नियन्त्रण तथा जलपर्यटन, पुरानो बुटवलको मौलिकता संरक्षण गर्दै पुरानो बुटवलको पुनर्निर्माण र पर्यटकीयस्थलको विकास, प्रत्येक वडामा सुविधासम्पन्न सहरी स्वास्थ्य केन्द्र निर्माण, महिला उद्यमशीलता तथा सशक्तीकरण, पार्किङ र व्यावसायिक भवन निर्माण र हरियाली पार्कहरू निर्माणका लागि प्रस्ताव गर्नुभयो ।
विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले बुटवलजस्तो उदाउँदो सहरसँग सहकार्यका लागि हात अगाडि बढाउने बताउनुभयो । उहाँले बुटवलको तीव्र विकासले आफूहरू प्रभावित भएको भन्दै बुटवलमा कुनै न कुनै योजनामा काम गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा बेलायती दूतावासका प्रतिनिधि सविता थापाले जनतालाई लाभ हुने योजनामा सहकार्य गर्नका लागि सकारात्मक रहेको बताउनुभयो । युएनडिपीका प्रतिनिधि एन्डर्स म्याग्नुसनले बुटवलले विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नयाँ योजनामा काम गर्नका लागि सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि विकास साझेदारको साथ आवश्यक रहेको बताउनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध बनाउने गरी योजना तयार रहेको र त्यसका लागि आवश्यक सहकार्य गर्नका लागि विकास साझेदारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा योजना महाशाखा प्रमुख सुमन श्रेष्ठले बुटवलका योजना र विकासका सम्भावनाबारे जानकारी गराउनुभएको थियो । छलफलपश्चात बुटवल उपमहानगरपालिका र विकास साझेदारसहितको टोलीले पुरानो बुटवल र जितगढी किल्ला क्षेत्रको अवलोकन गरेको थियो । रासस






