गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत

  चैत १३, २०७९

जुम्ला, १३ चैत : जुम्लाका ग्रामीण क्षेत्रमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत भएको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला सदरमुकाम खलङ्गाबाट सबैभन्दा टाढा पर्ने गाउँ बस्ती छन् ।

यस क्षेत्रको भेरीखोलामा धेरैजसो पशुचौपाया पालन गरिन्छ । कच्ची बाटो खनिए पनि नियमितरूपमा सवारीसाधन चल्दैनन । बिजुली नहुँदा यहाँका नागरिक रातमा अँध्यारोमै बस्न बाध्य छन् । भेरीखोलामा सामान्य उपचारका लागि स्वास्थ्य चौकी भए पनि विशेषज्ञ चिकित्सक सेवा पाउँदैनन् ।

यही समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा तातोपानी गाउँपालिकाले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमार्फत भेरीखोलाका चार सय पाँच स्थानीयवासी लाभान्वित भएका छन् ।

आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट वञ्चित विपन्न नागरिकको राहतका लागि ‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तर्गतको बजेटबाट स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ । दुई दिने स्वास्थ्य शिविरको पहिलो दिनमा दुई सय ५० र दोस्रो दिनमा एक सय ५५ गरी चार सय सय पाँच जनाले विभिन्न समस्याको जाँचसँगै स्वास्थ्य सेवा लिएका हुन् । महिला दुई ५१ र पुरुष एक सय ५४ जनाले परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष चौलागार्इंले बताउनुभयो ।

बाह्र गर्भवतीले अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा लिएको वडाध्यक्ष तिलक रावलले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका–७ की ८० वर्षीया रामकली रावतले गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार पाएकामा यहाँका स्थानीयवासीलाई निकै राहत गरेको बताउनुभयो ।

“शरीर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पीडामा परेकी थिएँ”, रावतले भन्नुभयो, “कर्णाली स्वास्थ्य विज्ञानमा गएर उपचार गर्ने खर्च थिएन । गाउँमै डाक्टर आउँदा खुसी लाग्यो । हामी बूढाबूढी टाढा अस्पताल पुगेर उपचार गर्न सकिएको थिएन ।”

घरमै पालिकाले चिकित्सक ल्याएर उपचार सेवा दिएकोमा स्थानीय सरकारले गरेको नमूना काम भएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य शिविरका लागि जनतासँग अध्यक्ष कार्यक्रमको रु पाँच लाख बजेट खर्च भएको छ ।

भेरीखोला क्षेत्रमा अहिलेसम्मकै ठूलो र सबै रोगको परीक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता भएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।

शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या, सेतो पानी बग्नेलगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डा पुजन रोकायाले बताउनुभयो ।

शिविरमै तीन जनाको शल्यक्रियासमेत गरिएको छ । लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा बिझेर इन्फेक्सन भएका कारण जटिल स्वास्थ्य समस्या रहेका तीन बिरामीको शल्यक्रिया गरिएको डा रोकायाले जानकारी दिनुभयो ।

दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया