किसानलाई टनेल वितरण

  चैत ०८, २०७९

ताप्लेजुङ, चैत ८ : फुङ्लिङ नगरपालिका–७ का किसानलाई बेमौसमी तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको छ ।

तरकारी उत्पादनमा वृद्धि गर्दै किसानको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले वडा कार्यालयले यहाँका ५० जना किसानलाई टनेल वितरण गरेको हो ।

उत्पादन भएको तरकारी बिक्रीका लागि बजार नजिकै भएको र यहाँका किसानलाई टनेल वितरण गर्दा राहत मिल्ने देखिएकाले उक्त कार्यक्रम बनाइएको वडाध्यक्ष योगेन्द्रप्रसाद निरौलाले बताउनुभयो । वितरण भएका टनेलको प्रयोग भए नभएको अनुगमन हुने उहाँको भनाइ छ ।

टनेल वितरण कार्यक्रममा नगरप्रमुख अमिर मादेनले टनेलको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । सरकारी बजेटबाट वितरण हुने कृषि औजार, टनेललगायतका सामानको कतिपय ठाउँमा प्रयोग नहुने गरेको पाइएको भन्दै प्रयोग भए नभएको सम्बन्धमा अनुगमन हुने उहाँले बताउनुभयो ।

सदरमुकाम फुङलिङ बजार नजिकै रहेका किसानले टनेल पाएपछि खुसी व्यक्त गरेका छन् । सिजनमा तरकारी खेती गरेर नजिकै लाग्ने हाटबजारमा बेच्दै आएका उनीहरूले अब बेमौसमी तरकारी खेती गर्ने बताएका छन् । विभिन्न प्राविधिक समस्या आइपरेमा नगरपालिकाको कृषि शाखामा समेत सम्पर्क गरेर सहयोग लिन सकिने नगरप्रमुख मादेनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया