स्वास्थ्य सेवा विस्तारले सहज

  चैत ०८, २०७९

महोत्तरी, चैत ८ : आफ्नो नगरमा स्वास्थ्यसम्बन्धी सेवा विस्तारले महोत्तरीको मटिहानी नगरपालिकाका गृहिणी महिलाले राहत पाएका छन् ।

नगरमा गर्भवती महिलालाई सम्भावित मुर्छाबाट जोगाउन क्याल्सियम चक्की खुवाउने कार्यक्रम थालिएपछि सर्वसाधारण गृहिणीलाई राहत भएको हो । यस्तो चक्की खान नै सात किलोमिटर दूरीको जलेश्वर अस्पताल जानुपर्ने अवस्था अन्त्य भएपछि नगरका महिला खुशी छन् ।

“अब गर्भवती अवस्थाको स्वास्थ्य हेरचाह धेरैजसो यही स्वास्थ्यचौकीबाट हुन थालेको छ, छोरीबुहारीले आफ्नै ठाउँमा स्वास्थ्य सल्लाह र उपचार पाउन थालेका छन्”, मटिहानी–१ धिरापुरकी ६० वर्षीया पवनवती देवीले भन्नुभयो । नगर कार्यपालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि नगरक्षेत्रका नौवटै स्वास्थ्यचौकीबाट यो सेवा दिन थालेको हो ।

कार्यक्रममा गर्भवती भएको चारदेखि नौ महिनाभित्र एक सय ८० चक्की क्याल्सियम चक्की खुवाइने मटिहानी नगर कार्यपालिकाको कार्यालयका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले जानकारी दिनुभयो । यो चक्कीले गर्भवती अवस्थाका महिलामा मुर्छा पर्ने समस्या आउन नदिने र गर्भको बच्चाको हाड मजबुत हुने मण्डलको भनाइ छ ।

यसैगरी नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका खानेपानीका स्रोतको परीक्षण गर्ने ल्याब सञ्चालनमा ल्याएको छ । अधिकांश चापाकल खानेपानीको स्रोत रहेको नगरक्षेत्रमा यो कार्यक्रमले आर्सेनिक परीक्षण गरी शुद्ध र स्वच्छ खानेपानीको व्यवस्थापनमा सघाउ पु¥याउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरमा युनिसेफको सहयोगमा पानीको गुणस्तर जाँच गर्न नगर कार्यपालिकाको कार्यालयमै ल्याब स्थापना गरिएको छ ।

पानीको गुणस्तर जाँच गर्ने यो ल्याबबाट ई–कोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रिकल कनेक्टिभिटीलगायतका सात प्रकारका जाँच सेवा उपलब्ध छन् । जिल्लाका १५ स्थानीय तहमध्ये अब मटिहानीसहित पाँचमा यो सेवा उपलब्ध भएको युनिसेफका खानेपानी सरसफाइ स्वच्छता कार्यक्रमका अधिकृत अन्नपूर्ण मिश्रले जानकारी दिनुभयो ।

नगरमा खानेपानीका स्रोत (चापाकल)मा आर्सेनिकको अधिक मात्रा हुँदा स्वास्थ्य समस्या बढेबीच ल्याब सञ्चालनमा आएपछि अब स्वच्छ पानीको प्रबन्धमा सहयोग हुने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

यसैगरी मटिहानीस्थित स्वास्थ्यचौकीमा हिजो मङ्गलबार मात्र जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को स्थापना भई कार्य सञ्चालन भएको छ । सञ्चालित प्रयोगशालाबाट अब गर्भवतीका विभिन्न अवस्थासँगै दिसापिसाव, रगत र सङ्क्रामक रोगबारे परीक्षण हुने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको पहिचान गर्न आफ्नै ठाउँमा अत्याधुनिक ल्याब ९प्रयोगशाला० सञ्चालनमा आएपछि स्वास्थ्य जाँच र उपचार सेवामा सर्वसाधारणको पहुँच बढेको शाखाले जनाएको छ ।

मटिहानी धानुक, केवट, मलाह ९सहनी०सहितका जनजाति, चमार, पासवान, खत्वेसहितका दलित समुदाय र मुस्लिम बसोबास बाहुल्यताको भारतसँग सीमा जोडिएको नगरपालिका हो ।

यी स्वास्थ्यसम्बद्ध सुविधा विस्तारले आधारभूत गरिब परिवारमा स्वास्थ्य सेवाको पहुँच बढेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको भनाइ छ ।

नगरमा स्वास्थ्यसम्बद्ध यी सुविधाको विस्तारले सबैभन्दा बढी महिला लाभान्वित हुने नगरका उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । कतिपय अवस्थामा अर्थाभाव र टाढा जानुपर्ने भएपछि स्वास्थ्य जटिलता सहेरै बस्ने महिलाले अब आफ्नै ठाउँमा सेवा पाउन थालेपछि निकै राहत महसुस गर्ने उपप्रमुख साहको भनाइ छ ।

यसै चैतको पहिलो सातामै सञ्चालनमा आएका यी सेवाले स्वास्थ्य क्षेत्रका आमरुपमा पाइने समस्याको सम्बोधन गर्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया