आगामी बजेटमा खेलकुद क्षेत्रको बजेट व्यापक बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

  फागुन १६, २०७९

काठमाडौँ,फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् ।

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए।

खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे । उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताए ।

‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति,योजना र कार्यक्रम बनाएका छौँ ।

आउने दिनमा यो क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुनेकुरा र सिंगै राष्ट्र पनि सबल रुपमा अघि बढ्ने आधार निर्माण हुनेकुरा हो ।

यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

तपाईको प्रतिक्रिया