भद्रपुर गोल्डकप : एपिएफ सडनडेथमा भाग्यमानी सावित

  फागुन १२, २०७९

बनियानी,फागुन १२ : झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको हो । सडनडेथमा एपिएफले बङ्गलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो ।

जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ । खेलमा सुरुआती अग्रता लिएको काउवार्न बजार प्रगति सङ्घका लागि खेलको २१ औँ मिनेटमा साएरले गोल गरेका थिए ।

दोस्रो हाफपछि एपिएफका युवराज खड्काले ७२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भएका छन् । उनले रु २० हजार पुरस्कार पाए ।

भोलिको पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले रु १३ लाख र उपविजेताले रु सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया