‘योग गरौँ, स्वस्थ जीवन जिऔँ’

  फागुन ०४, २०७९

काठमाडौँ, फागुन ४ : राष्ट्रिय समाचार समिति(रासस) को ६२ औँ वार्षिकोत्सवको अवसरमा योग, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

रासस केन्द्रीय कार्यालयमा भएको सो कार्यशालामा योग तथा प्राकृतिक चिकित्सक डा क्षीतिज बाराकोटी र योग प्रशिक्षक गम्भीर श्रेष्ठले प्रस्तुति दिनुभएको थियो ।

डा बाराकोटीले योग र स्वस्थ खानपानको विषयमा प्रस्तुति दिनुभयो । योग प्रशिक्षक श्रेष्ठले व्यस्त जीवनशैली र तनाव व्यवस्थापनका विषयमा प्रेरणादायी प्रस्तुति गर्नुभयो ।

डा बाराकोटीले योगको नियमित अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक शुद्धीकरण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “रोग लागेपछि मात्र योग गर्ने चलन छ । तर योगको महत्त्व रोग लाग्नै नदिने हो ।”

दीर्घरोग भएका, मुटुको समस्या, घुँडाको समस्या, चोटपटक लागेका, शल्यक्रिया र गर्भवतीले योगाभ्यास गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “योगको अभ्यास सही तरिकाले नगर्दा यसको फाइदा भन्दा असर धेरै पर्नसक्छ । सुरुमै जटिल प्रकारको आसन अभ्यास गर्नु भएन । त्यसमा पनि बिरामीले विशेष सचेत भएर योग गर्नुपर्छ ।”

डा बाराकोटी बिहान सबेरै खाली पेट वा खाना खाएको तीन घण्टापछि योग गर्न सुझाउनुहुन्छ । उहाँले भन्नुभयो, “जीवनशैलीलाई योगमय बनाउन सके हरेक काम तनावबिना सफलरूपमा सम्पन्न गर्न सकिन्छ ।” उहाँले तनाव व्यवस्थापनका लागि उचित आहार, विहार र विचारप्रति सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

योग प्रशिक्षक श्रेष्ठले तनाव व्यवस्थापनप्रति सचेत गराउँदै भन्नुभयो, “शरीरलाई दुःख र चित्तलाई सुख दिनसके तनाव व्यवस्थापन हुन्छ ।” उहाँले सबैभन्दा पहिले व्यक्तिले आफनो तनावको अवस्थाबारे जानकार-सचेत हुनपर्ने बताउनुभयो ।

“आफू तनावको अवस्थामा छु भन्ने सचेत भएपछि, व्यवस्थापनको विकल्प प्रयोग गर्न सकिन्छ । तत्काल तनाव व्यवस्थापन गर्न लामो श्वासप्रश्वास लिने र मनमाथि नियन्त्रण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले सधैँ तनाव वहन गर्नुपर्ने पेशागत प्रकृति भएको र त्यसका लागि तनाव व्यवस्थापनका लागि योग अभ्यास महत्त्वपूर्ण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्मचारी स्वस्थ र रचनात्मक हुनसके मात्र संस्था स्वस्थ हुन सक्छ । पत्रकारले व्यस्त समयका बाबजुद योग अभ्यासलाई निरन्तरता दिनसके तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।”

तपाईको प्रतिक्रिया