मोरङमा ११ औँ पटक हात्तीपाइलेको औषधि खुवाइँदै

  फागुन ०३, २०७९

उर्लाबारी, फागुन ३ : मोरङमा पटक–पटक हात्तीपाइले रोग रोकथामका औषधि खुवाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन भए पनि उद्देश्य हासिल हुन नसकेपछि पुनः यो अभियान सञ्चालन गरिने भएको छ ।

यसअघि मोरङमा ११औँ पटकसम्म हात्तीपाइलेको औषधि खुवाइ सकिएको भए पनि उपलब्धि दर १६ दशमलव ७८ प्रतिशत मात्र पुगेपछि मोरङ जिल्ला यो अभियानमा असफल जिल्लाका रुपमा रह्यो । सरकारले सन् २०३० सम्ममा नेपाललाई यस रोगबाट उन्मूलन गर्ने लक्ष्य लिएअनुसार प्रदेश नं १ का झापा र मोरङमा यो अभियान सञ्चालन हुने भएको हो ।

अभियानअन्तर्गत मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उर्लाबारीसहित १७ वटा पालिकामा हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमबारे अन्तक्र्रिया तथा छलफल गरेका छन् ।

बुधबार उर्लाबारी नगरपालिकाले नगरस्तरीय छलफल कार्यक्रम गरेको छ । पटकपटक औषधि खुवाएर पनि हात्तीपाइले निवारण नभएको कारण ११ औँ पटक हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम गर्नुपरेको उर्लाबारी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जानकारी दिनुभयो ।

हरेक वर्ष कोही न कोही छुट्ने र उनीहरूबाट फेरि अन्य व्यक्तिमा सर्ने कारणले मोरङमा निरन्तर हात्तीपाइलेका रोगी भेटिएका छन्  । जनस्वास्थ्य निरीक्षक खड्काले भन्नुभयो, “यसअघिको औषधि स्वास्थ्यकर्मीको उपस्थितिमा नखाएको र कतिले घरमा लगेर फालेको समेत भेटियो ।”

रोग पत्ता लगाएर हरेक व्यक्तिलाई छ पटक औषधि खुवाउने योजना बनेको थियो तर, कतिपयले बीचैमा छुट्टाएकाले नियमित ११ पटक खानेलाई पनि सङ्क्रमणको जोखिम भएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तोयानाथ घिमिरेले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदण्डअनुसार पाँच वर्षसम्म लगातार औषधि खुवाएपछि हात्तीपाइले निवारण हुन्छ । “पाँचपटक औषधि खाएको मानिसमा कीटाणु भएपछि फैलावट हुँदैन, अर्कालाई सार्न पनि सक्दैन”, उहाँले भन्नुभयो, “११ पटकसम्म जिल्लाभर औषधि खुवाएर पनि सङ्क्रमण बढिरहनु जनस्वास्थ्यकै समस्या भयो ।” औषधि छुटाएपछि सुषुप्त रहेको कीटाणु बढ्ने र त्यस्तो मानिसलाई क्युलेस जातको पोथी लामखुट्टेले टोक्दा अरुमा सजिलै सर्ने उहाँको भनाइ छ ।

हात्तीपाइलेको औषधि सबैलाई सेवन गर्न उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले आग्रह गर्नुभयो । उहाँले हात्तीपाइले निवारण गर्ने अभियानलाई सफल पार्न सबै नगरवासीलाई औषधि सेवन गर्न अपिल गर्नुभयो ।

उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनादेवी पौडेल खतिवडाले हात्तीपाइले निवारण गर्ने अभियान सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले सामूहिक प्रयासबाट मात्र हात्तीपाइले निवारण अभियान सफल बन्ने भएकाले स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालन भएर जनताको घरघरमा औषधि खुवाउनुपर्नेमा जोड दिनुभयो । उर्लाबारी नगरपालिकाका प्रत्येक वडाका पाँच स्थानमा व्यापक छलफल कार्यक्रम गर्ने योजना रहेको उर्लाबारी नगरपालिकाका सअहेव अधिकृत रेनुकाप्रसाद काफ्लेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया