सुनकोशीमा विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ

  माघ १९, २०७९

सिन्धुपाल्चोक,माघ १९ : जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयवासीका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म २, वडा ३ मा १, वडा ५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिनुभयो ।

सामुदायिक स्वास्थ्य एकाइमा प्राथमिक उपचारका सबै सेवा उपलब्ध हुनेछ । ओपिडी, बालस्वास्थ्य सेवालगायतका सेवा र सुविधा यस्ता स्वास्थ्य एकाइमा उपलब्ध हुनेछ । सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सुविधा भने उपलब्ध नहुने हायुले बताउनुभयो । प्रत्येक सामुदायिक स्वास्थ्य एकाइमा अहेव र अनमीको दरबन्दीसहित राज्यबाट उपलब्ध हुने सबै प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध हुनेछ ।

आगलागी पीडितलाई पाँच लाख सहयोग

पालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ । सुनकोशी गाउँपालिका–२ ठोकर्पामा स्थानीय जालबहादुर केसीले सञ्चालन गरेको ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी भएर रु ५० लाख बढीको क्षति भएपछि सुनकोसी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

आगलागी भएको स्थानमा पुगेर पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडाध्यक्ष कुमार शाही, पूर्णबहादुर महत, ईश्वर तिमिल्सिना, एमाले पालिका कमिटी अध्यक्ष प्रेमलाल लामालगायत उपस्थितिमा आज सहयोग रकम हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया