गङ्गालाललाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने

  माघ १५, २०७९

काठमाडौँ,माघ १५ : शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने भएको छ । आज २७औँ वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुरोगको विशिष्टीकृत सेवासहित मुटुको सबै अध्ययन गरिने भएकाले केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने बताउनुभयो ।

उहाँका अनुसार केन्द्रमा मुटुरोगको रोकथाम, उपचार र हृयरोगसम्बन्धी उच्चस्तरीय उपचार तथा मुटुसम्बन्धी सबै अध्ययन गरिनेछ । केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले केन्द्रमा वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा विश्वस्तरीय अत्याधुनिक उपकरणसहितको प्रविधिले उपचार गर्दा ‘सुपर स्पेसियालिटी कार्डियक सेन्टर’का रूपमा स्थापित गरिएको बताउनुभयो ।

उहाँले विश्वमा गरिने जुनुसुकै प्रकारको मुटुको उपचार केन्द्रमा गरिने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा गत वर्ष नेपालमा नै पहिलो पटक विना शल्यक्रिया मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।

केन्द्रले २०७८ फागुन १६ गतेदेखि ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी)’ विधिबाट मुटुको कृत्रिम भल्ब राख्ने सेवा सुरु गरेको छ । उहाँले अहिलेसम्म सातजनाको टाभी विधिबाट मुटुको कृत्रिम भल्ब राखिएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सेवालाई विकेन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुटुको उपचार सात प्रदेशबाट सुरुआत गर्नुपर्ने बताउनुभयो । राज्यमन्त्री कार्कीले मन्त्रालयले केन्द्रको क्षमता विस्तार गर्नका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

सांसद प्रदीप पौडेलले केन्द्रलाई दक्षिण एसियाको मुटुरोगको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले एकमात्र मुटुरोग अस्पतालले उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गरिरहेको भन्दै केन्द्रलाई अझ सर्वोत्कृष्ट बनाउनुपर्ने बताउनुभयो । उहाँले केन्द्रले नयाँ प्रविधि भित्र्याई बिरामीलाई थप सेवा दिनका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा डा भगवान कोइराला, डा अरुण मास्के, डा दामोदरप्रसाद पोखरेल, डा अग्निभूषण उपाध्याय, डा मनबहादुर केसी र डा ज्योतेन्द्र शर्मा तथा २५ वर्ष सेवा गरेकालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।

विसं २०५२ मा नौ शय्याबाट मुटुरोगका लागि स्थापना गरिएको केन्द्रमा अहिले दुई सय ७० शय्या रहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा सर्वसुलभरूपमा उपलब्ध गराइरहेको छ ।

केन्द्रले एक वर्षमा एक लाख ६१ हजार छ सय ६४ जनालाई बहिरङ्ग सेवा र १२ हजार पाँच सय ८१ जनालाई अन्तरङ्ग सेवा, १८ हजार ७९ जनाले आकस्मिक सेवा प्रदान गरेको छ ।

एक वर्षमा एक हजार छ सय सातजनाको मुटुको शल्यक्रिया र हृदयघात भएर आएका सात सय ३० जनाको प्राइमरी एन्जिओप्लाष्टी गरेको कार्यकारी निर्देशक डा अधिकारीले जानकारी दिनुभयो । प्राइमरी एन्जिओप्लाष्टिक हृदयघात भएको २४ घण्टाभित्र गरिसक्नुपर्दछ ।

केन्द्रमा आर्थिक वर्ष २०६३/६४ देखि १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार, आव २०६४/६५ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र आव २०६६/६७ देखि विना शल्यक्रिया मुटुको साँघुरिएको भल्ब खोल्ने प्रविधि सुरु गरिएको छ ।

यस्तै केन्द्रले बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिबी बिरामी राहत सुविधालगायतका सेवासुविधा पनि प्रदान गरिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले २७ वर्षमा २२ लाख बिरामीले बहिरङ्ग सेवामार्फत मुटु परीक्षण गराएको बताउनुभयो ।

यस्तै २० हजार जनाको मुटुको शल्यक्रिया, ५० हजार जनाको कोरोनरी एन्जियोग्राम तथा १८ हजारको प्राइमरी एन्जिओप्लाष्टिक गरिएको छ । केन्द्रले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

भवनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी मन्त्रालयमा स्वीकृतीका लागि पठाइसकेको कार्यकारी निर्देशक डा अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया