झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि

  पुष १९, २०७९

दमक,पुस १९ : आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले रु १३ लाख र उपविजेताले नगद रु सात लाख तथा ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, प्रतियागिताभर सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार पाउनेछन् ।

प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका सात, भारत र भुटानका तीन गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ५० लाख लागत अनुमान गरिएको छ । गोल्डकपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि रु ३० लाख उपलब्ध गराउनेछ ।

तपाईको प्रतिक्रिया