जुम्लाका गाउँमा स्वास्थ्य शिविर

  पुष ०३, २०७९

जुम्ला, पुस ३ : जुम्लाको हिमा गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा दिन थालेको छ । सो पालिकाको वडा नं १ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ती शिविर सञ्चालन गर्न थालिएको हो । अध्यक्ष शाहीले भन्नुभयो, “गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवा लिने स्थानीयवासीको सङ्ख्या बढेको छ ।” गाउँपालिकाको पहलमा आयोजना गरिएको सो शिविरमा करिब तीन सय ७६ जनाले सेवा लिएको अध्यक्ष शाहीको भनाइ छ ।

हिमा गाउँपालिकाका स्थानीयवासीले स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतियाविन्दुको सल्याक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाहअनुसार औषधि वितरण गरिएको छ । नौ जना आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।

पालिकाको बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, बाजागाडासहित आसपासका अन्य गाउँका मानिस पनि निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका छन् ।

गाउँमै स्वास्थ्य शिविर सञ्चालनमा आएपछि यहाँका नागरिकलाई निकै राहत मिलेको स्थानीयवासी खम्बा शाहीले जानकारी दिनुभयो । यहाँका स्थानीयवासीको अपेक्षाअनुसार गाउँ केन्द्रित सेवा दिन थालिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया