विपन्नको उपचारका लागि दुई करोड सहयोग

  पुष ०२, २०७९

म्याग्दी, पुस २ : म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारका लागि रु दुई करोडभन्दा बढी सहयोग गरेको छ ।

हाइपोपलास्टिक एनिमियाबाट दिवङ्गत भएकी बेनपा-४ की स्वर्गीय ओमकुमारी पुन (शान्ति)को उपचारका लागि सङ्कलन भइ बचत भएको रु १३ लाख नौ सय ७८ हजार ४१ बाट सुरु भएको कोषमा हाल रु एक करोड २१ लाख १५ हजार १२४ बचत छ ।

विसं २०७१ मा स्थापना भएको संस्थाको आज बेनीमा भएको चौथो साधारणसभा तथा अधिवेशनमा निवर्तमान अध्यक्ष राजेश शाक्यले कोषको ब्याज र विभिन्न अभियानमार्फत् दुई सय ७९ जनालाई रु दुई करोड पाँच लाख ६१ हजार पाँच सय ३३ सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका म्याग्दीबासीलाई अस्पतालसम्म पुग्न र औषधि उपचारका लागि सघाउन स्थापना भएको कोषमा सहयोग गर्ने आठ सय ८० आजीवन, नौ वटा संस्थागत र ४१ संरक्षक सदस्य हुनुहुन्छ । कोषको ब्याज र अभियान सञ्चालन गरेर बिरामीलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

विसं २०७६ भदौ २५ गते चयन भएको पछिल्लो कार्यसमितिले तीन वर्षको अवधिमा एक सय ५० बिरामीलाई कोषको ब्याजबाट रु २० लाख, २३ हजार सात सय ५५ र अभियानमार्फत् रु चार लाख ८० हजार छ सय ५८ सहयोग गरेको गरेको उहाँले जानकारी दिनुभयो ।

कोषले बेनी नगरपालिका–५ की निशा सुवेदीलाई मिर्गौला प्रत्यारोपनका लागि रु तीन लाख, धवलागिरि–७ का स्व। खड्कबहादुर थापालाई रु दुई लाख ८० हजार सात सय ५०, मंगला–२ की नरमत पुर्जालाई रु चार लाख ३९ हजार छ सय र बेनपा–२ खबराका धनबहादुर पाठकलाई रु एक लाख ४४ हजार सात सय ७८ उपलब्ध गराएको छ ।

विसं २०७७ को म्याग्दीका पहिरो पीडितका लागि अभियानमार्फत् रु १० लाख ९४ हजार सात सय १७ र संस्थाबाट रु १० लाख खर्च गरेर तीन आवास निर्माण गरेको द्वितीय उपाध्यक्ष लोकबहादुर पुन (लोकेश)ले बताउनुभयो ।

विसं २०७९ वैशाख १६ र १७ गते बेनीमा सञ्चालन गरेको निःशुल्क मुटु शिविरबाट एक हजार पाँच सय जनाको स्वास्थ्य परीक्षण र ४९ जनालाई काठमाडौँमा थप उपचारको व्यवस्था मिलाइएको थियो ।

अधिवेशनको उद्घाटन गर्नुहुँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा, प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले नागरिकको आधारभूत स्वास्थ्य उपचारको अधिकारको राज्यको नीतिलाई सघाउन संस्थाले खेलेको भूमिका प्रशसनीय भएको बताउनुभयो । म्याग्दीबासीको परोपकारी, सहयोगी भावना र एकतालाई ओमकुमारी शान्ति कोषले विश्वभर चिनाएको उहाँहरुको भनाइ छ ।

कोषको सहयोगमा मिर्गौला प्रत्यारोपण गरेकी निशा सुवेदीले आर्थिक अभावमा परेका विपन्न म्याग्दीबासी उपचारका संस्थाले अगुवाइ गरेर अभियान सञ्चालन गर्दा पारदर्शी भएको र दाताले विश्वास गरेर सहयोग गरेका बताउनुभयो ।

संस्थाका नवनिर्वाचित अध्यक्ष हरिकृष्ण गौतमले स्वदेश तथा विदेशमा रहेका दाताबाट सहयोग जुटाएर कोषमा रु दुई करोड ५० लाख पु¥याउने, विपन्नलाई अस्पताल पुग्नका लागि यातायात खर्च, औषधि खरिदका साथै स्वास्थ्य बीमामा विपन्नको पहुँच बढाउने र नसर्ने रोगको समस्या न्यूनीकरणका कार्यक्रम चलाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया