मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान देओस् : अध्यक्ष मगर

  मंसिर २६, २०७९

पाटन, मङ्सिर २६ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आयोग र कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आज आयोगको सभाहलमा गरेको मानवअधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाबीचको आन्तरक्रियामा अध्यक्ष मगरले यस्तो बताउनुभएको हो ।

“आम नागरिकमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको अवस्था छ, अहिले सरकारी अस्पतालमा विभिन्न ९७ वटा औषधि निःशुल्क त भयो, तर मानसिक समस्याका बारेमा समाधान गर्ने विषयविज्ञ डाक्टर, उपचार व्यवस्था र त्यसका लागि आवश्यक औषधि सहजरूपमा उपलब्ध हुन सकेको अवस्था छैन ।

यस विषयमा स्वास्थ्य मन्त्रालयले ध्यान देओस्”, उहाँले भन्नुभयो, “आमनागरिकमा मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मातहतका कार्यालयले उचित नीति, योजना र कार्यक्रम गर्नु आवश्यक छ ।”

उहाँले संविधानमा सबै नागरिकले स्वास्थ्य उपचार सहजै पाउने भन्ने व्यवस्था भए पनि मानसिक स्वस्थ्यका क्षेत्रमा हाम्रा उद्देश्य परिपूर्ति भएको नपाइएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले अहिले भएका नीति तथा रणनीतिलाई पूर्ण कार्यान्वयन गरेर आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हरेक १० जनामध्ये आठ जनाले आफूलाई आवश्यक पर्ने मानसिक स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया