शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन

  मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : सहप्राध्यापक एवं अधिवक्ता थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन गरिएको छ । अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पार्नुभएको उक्त पुस्तक आज क्यान्भास कलेज बसुन्धरामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गर्नुभयो ।

सो अवसरमा वरिष्ठ अधिवक्ता भण्डारीले हरेक व्यक्तिको जीन्दगीका भोगाइहरू फरकफरक हुने बताउनुभयो । उहाँले लेखक शर्माको जीवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । “आफूले केही कुरा सिक्नका लागि अर्कालाई केही कुरा सिकाउनुपर्छ, काम गरेसँगै दाम र नाम कमाउन सकिन्छ, असल काम गरौँ, मेहनती बनौँ”, उहाँले भन्नुभयो ।

पुस्तकबारे समीक्षा गर्दै डा कविन्द्रप्रसाद सापकोटाले लेखकले पुस्तकमार्फत आफ्नो बाल्यावस्था, किशोरावस्था र जागिरको समयका भोगाइलाई पुस्तकमार्फत प्रस्तुत गरेको बताउनुभयो । आफ्नो जीवनको घटना परिघटनालाई समावेश गरी लेखिएको पुस्तक नयाँ पुस्ताका लागिसमेत सहयोगी बन्ने उहाँको भनाइ छ ।

क्यान्भास कलेजका डाइरेक्टरद्वय डा लेखनाथ मिश्र र सुन्दर भुसालले ‘जीवन एक, घुम्ती अनेक’ पुस्तकले आम पाठकमा नयाँ सन्देश दिएको बताउनुभयो । नेपाली साहित्यमा उक्त पुस्तकले नयाँ इँटा थपिएको उहाँहरूको भनाइ थियो ।

घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पुस्तकमा शर्माले आफ्नो जिन्दगीलाई निरन्तर प्रवाहमा अनुशासित ढङ्गले व्याख्या गर्नुभएको बताउनुभयो । हरेक व्यक्तिको कथा, निबन्ध, नाटक बन्ने उहाँको भनाइ थियो ।

पुस्तकका लेखक शर्माले आफ्नो जीवनमा भएका नयाँ अनुभवलाई पुस्तकमार्फत आमपाठकमाझ ल्याएको बताउनुभयो । पाँच खण्डमा विभाजित उक्त पुस्तक तीन सय ६४ पृष्ठको रहेको छ । उक्त पुस्तकको मूल्य रु छ सय ५० राखिएको छ ।

तपाईको प्रतिक्रिया