चन्द्रविनायक तथा भैरवनाथ जात्राको दोस्रो दिन उठाइयो खट

  कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : श्री चन्द्रविनायक र श्री भैरवनाथ जात्राको दोस्रो दिन आज श्री चन्द्रविनायक र श्री भैरवनाथको खट उठाइएको छ । कार्तिक शुक्ल पूर्णिमादेखि सुरु हुने जात्राको दोस्रो दिन बिहान मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन दुवै देवताको खट उठाउने प्राचीन परम्परा रहेको जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिनुभयो ।

“जात्राको दोस्रो दिन आज गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा, लावा चढाइएको छ, यी चढाइएका चीज प्रसादका रूपमा आज बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिएको छ”, उहाँले भन्नुभयो ।

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई आजै मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको छ । स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती विहारमा लगेर बिसाइएको छ ।

मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् बिहीबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने कार्यक्रम रहेको जात्रा समितिले जनाएको छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रूपमा वितरण गरिन्छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा शुक्रबार दिनभर चाबहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ ।

करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि चार दिनसम्म चाबहिल क्षेत्रमा धुमधामसाथ मनाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत गराएको विश्वास गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ ।

तपाईको प्रतिक्रिया