खलङ्गा, कात्तिक २३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्लालाई दुई वर्षभित्रमा अँध्यारोमुक्त बनाउने बताउनुभएको छ । बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने छ । दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ, यो धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।” उहाँले केही महिनाअघि दार्चुलामा नेपाल-भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो ।
त्यसैगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको उहाँले बताउनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो ।
“कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पारित भएको हो,” प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ,” प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन एकजुट भएर अघि बढेको छ ।” (रासस)






