काठमाडौँ, कात्तिक १७ : प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीको बर्दिवासस्थित मध्य पूर्वी पृतना हेडक्वाटर तथा बाराको जितपुरस्थित श्री नम्बर २८ बाहिनी अड्डाको निरीक्षण गर्नुभएको छ ।
प्रधानसेनापति शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल इलाकामा स्थापना गरेको कम्पनी अपरेटिंग बेसको पनि निरीक्षण गर्नुका साथै उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुभएको थियो ।
निरीक्षण भ्रमणका दौरान उहाँले त्यहाँको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरुसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिइ आवश्यक निर्देशन दिनु भएको थियो ।
सोही क्रममा प्रधानसेनापति शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको थियो । निरीक्षणमा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको सहभागिता थियो ।






