बेलायती नागरिकको आर्थिक सहयोगमा विद्यालयको भौतिक संरचना निर्माण

  कार्तिक १६, २०७९

खोटाङ, कात्तिक १६ : केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविका लागि बेलायती नागरिकको आर्थिक सहयोगमा निर्माण गरिएका दुईवटा विद्यालय भवन तथा अन्य भौतिक संरचना विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

बेलायती नगारिक इड फ्लानागण र रोबर्टसन अलास्डायरले संयुक्तरुपमा उपलब्ध गराउनुभएको रु साढे तीन करोड बजेटमा निर्माण गरिएका १२ कोठे र छकोठे दुईवटा विद्यालय भवन तथा एउटा सामुदायिक हल, अपाङ्गमैत्री शौचालय र १४ वटा खानेपानीको धारा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

विद्यालय परिसरमा निर्माण भएका १८ वटा कक्षा कोठाहरुमा शिशुदेखि १२ कक्षासम्म पठनपाठन सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक रणबहादुर राईले बताउनुभयो । वर्षदिनअघि निर्माण सम्पन्न भएका विद्यालय भवन तथा अन्य भौतिक संरचना मङ्गलबार १ नं प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राई र गाउँपालिका प्रमुख समीर राईले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा दाताद्वय फ्लानागण र अलास्डायरलाई सामाजिक विकासमन्त्री राजन राई र गाउँपालिका प्रमुख समीर राईले कदरपत्रसहित दोसल्ला र ढाकाटोपी ओढाएर संयुक्तरूपमा सम्मान गर्नुभएको छ ।

विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि गाउँपालिका प्रमुख राईले ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलमा निवेदन दिनुभएसँगै वेलफेयरले त्यो निवेदन बेलायत पठाएपछि बेलायतबाटै इन्जिनियर पठाएर सर्वेक्षण गरेपछि दुईजना बेलायती नागरिकले आर्थिक सहयोग गर्नुभयो ।

विद्यालय भवन तथा अन्य संरचनाहरू विद्यालय व्यवस्थापन समितिले विसं २०७६ मङ्सिरबाट सुरु गरेर विसं २०७८ फागुनमा काम सम्पन्न गरेको थियो । दाताद्वयले उपलब्ध गराउनुभएको रु साढे तीन करोड बजेटमा १० प्रतिशत जनश्रमदान बापतको बजेट अभिभावकबाट नउठ्ने भएपछि गाउँपालिकाले उक्त बजेट व्यवस्थापन गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विसं २०१५ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन सञ्चालन हुँदै आएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र बाक्सिला बजारमा सञ्चालित उक्त विद्यालयमा पाँच सय ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

स्थापना भएको ६४ वर्षसम्म पुरानो संरचनाका भवनमा पठनपाठन सञ्चालन हुँदै आएको उक्त विद्यालयमा बेलायती नागरिकको सहयोगमा निर्माण गरिएका सुविधा सम्पन्न भवनमा बसेर अध्ययन गर्न पाएपछि हर्षित भएका छन् । दाताले उपलब्ध गराएको आर्थिक सहयोगमा निर्माण गरिएका सुविधा सम्पन्न विद्यालय भवनमा पठनपाठन गर्नसमेत सहज भएको त्यहाँ कार्यरत शिक्षकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया