काठमाडौँ, कात्तिक १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार (काठमाडौँ क्षेत्र नं ८) जीवनराम श्रेष्ठले विगतका झैँ सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकतानुसार वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभएको छ ।
आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ, वडा नं १३ मा आज वाम–लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा उहाँले भन्नुभयो, “विगतको दिनमा पनि गठबन्धन हुने गथ्र्यो तर त्यो गठबन्धन सत्ता स्वार्थको लागि हुने गथ्र्यो । यो विशेष परिस्थितिमा बनेको वाम–लोकतान्त्रिक गठबन्धन राष्ट्र तथा लोकतन्त्र रक्षा र राजनीतिक स्थिरताको लागि बनाइएको हो ।”
सरकार जोगाउनका लागि मात्र नभएर निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्छ भन्ने मान्यता र सहमतिसहित आफूहरू गठबन्धनमा गएको उल्लेख गर्दै उहाँले अब यो गठबन्धनलाई निर्वाचनमा पहिलो बनाउनुपर्छ भन्ने मान्यतासहित आफूहरू हामी अगाडि बढेको बताउनुभयो ।
निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनमा विवाद र अन्योलता सिर्जना गर्नका लागि अनेक प्रकारका दाउपेचका काम भइराखेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले गठबन्धनका प्रत्येक सदस्य तथा उम्मेदवारका साथै मतदातासमेत सचेत हुनुपर्ने बताउनुभयो ।
“लोकतन्त्र विरोधी प्रतिगामी शक्ति आजका दिनमा यो गठबन्धनलाई कसरी कमजोर बनाउन सकिन्छ, गठबन्धनभित्र कसरी विवाद उत्पन्न गराउन सकिन्छ भन्ने कोसिस गरिराखेका छन् ।
कांग्रेसलाई कम्युनिष्टले भोटै दिँदैन र कम्युनिष्टले कांग्रेसलाई भोटै दिँदैन भनेर पनि अफवाह फैल्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसप्रकारले गठबन्धनका सहयात्रीमा अन्योल सिर्जना गर्न सकिन्छ की भनेर कोसिस भइराखेका छन् । ती सबै कोसिस भनेको यो गठबन्धनलाई टुक्र्याउने, विभाजित गर्नेअर्थात् कमजोर बनाउन सकिन्छ की भन्ने दाउपेच मात्र हुन् जुन सफल हुन सक्दैन ।”
उहाँले फरक–फरक पार्टीका गठबन्धनका सहयात्री उम्मेदवारबीचको भेटघाटलाई लिएर प्रतिगामी शक्तिले एउटै मञ्चमा बसेर पनि एकले अर्को उम्मेदवारको लागि भोट माग्दैन भनेर अनुमानित अफवाह फैल्याउने गरेको बताउनुभयो ।
लोकतन्त्र ल्याउनका लागि सडकमा जीवनको आहुति दिन तयार भएर हिँडेका शक्ति राष्ट्र निर्माण र लोकतन्त्र रक्षाका लागि, जनताको समृद्धिको चाहना पूरा गर्न सँगै हिँड्न सक्ने उहाँको भनाइ थियो ।






