कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न

  कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : राष्ट्रिय समाचार समिति (रासस) मा नवनियुक्त कर्मचारीका लागि आयोजना गरिएको सेवा प्रवेश अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ । तालिममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक, नायबमहाप्रबन्धकहरू, महाशाखा तथा विभागीय प्रमुखहरूले १८ जना नवप्रवेशी कर्मचारीलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा राससको उद्देश्य, कर्तव्य तथा कार्यशैलीका बारेमा प्रकाश पारिएको थियो । त्यस्तै स्रोत व्यक्तिले समाचार सङ्कलन, छनोट, सम्पादन र वितरणको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै, आलेख समाचार सेवा, तस्बिर सेवा, श्रव्यदृश्य सेवा, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय सेवा, अर्थ प्रशासन, बजार, प्रविधिलगायत क्षेत्रका बारेमा प्रशिक्षण दिइएको थियो । तालिमको समापनसत्रमा राससका कार्यकारी अध्यक्ष झाले लोकतन्त्रलाई दिगो बनाउन सञ्चारमाध्यमको सशक्तीकरण र व्यक्तिको सूचनामा पहुँच महत्वपूर्ण हुने बताउनुभयो ।

“नागरिक जति बढी सूचित हुन्छन्, लोकतन्त्र त्यति फस्टाउँछ । सूचित जनताले मात्रै खबरदारी गर्न सक्छन् । उनीहरुलाई सूचित गर्ने काम हाम्रो हो ।” उहाँले भन्नुभयो । समाचार उत्पादनका क्रममा मानवअधिकार र सामाजिक न्यायको विषयलाई प्राथमिकतामा राख्न नवप्रवेशी कर्मचारीलाई झाको निर्देशन थियो ।

समाचारमा मानवअधिकार र सामाजिक न्यायको विषय अटाउन सके त्यसको दायरा फराकिलो हुने मात्र नभई राससको उन्नयनमा समेत इँटा थपिने उहाँको भनाइ छ । संस्थागत तथा कर्मचारी वृत्तिविकासका लागि समन्वय र सहकार्यको आवश्यकता औँल्याउँदै अध्यक्ष झाले सबै कर्मचारीले आफूलाई तोकिएको जिम्मेवारी इमान्दारिताका साथ बहन गर्न पनि निर्देशन दिनुभयो ।

अरु सञ्चारमाध्यमको तुलनामा राससको उद्देश्य तथा कार्यशैली फरक रहेको बताउँदै महाप्रबन्धक सिद्धराज राईले विद्यमान कानुनी व्यवस्थाभित्र रहेर आफ्नो कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

“राससको आफ्नै गति, विशेषता, सीमा, परिधि र काम गर्ने शैली छ । त्यसैभित्र रहेर हामीले कार्यसम्पादन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राज्य नियन्त्रित माध्यम भएकाले राससले सरकारका राम्रा काम बाहिर ल्याउने र सुधार गर्नुपर्ने ठाउँ औँल्याउने दुवै दायित्व हो ।” नवप्रवेशी कर्मचारीको खटनपटन गर्दा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी तोकिएको पनि उहाँको भनाइ छ ।

तालिममा सहभागीका तर्फबाट धारणा राख्दै कमलकुमार बस्नेत र लक्ष्मी सापकोटाले संस्थाको गुणस्तरीयता कायम गर्नका लागि प्रतिबद्ध बताउनुभयो । उहाँहरूले संस्थागत उद्देश्य पूर्तिका लागि इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया