पुस्तक बिक्रीको रकम मानवीय सेवामा

  कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत प्रा डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गर्नुभएको छ ।

पुस्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा कैनीले बताउनुभयो ।

उहाँले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार आठ सय ६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गर्नुभयो । सो क्रममा उहाँले पुस्तकबाट जति पनि रकम आउँछ, सबै आश्रमलाई दिने बताउनुभएको लामाले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य लामाले परोपकारी व्यक्तिको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी ९सडकआश्रित० मानवहरुहरुको पालनपोषण भइरहेको बताउनुभयो । उहाँले डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताउनुभयो ।

डा कैनीले हालै अदृश्य मनका सादृश्यहरू, सिमाहीन सिमा र रङको पहिचान, भिसागर्ल, र प्रतिबिम्ब गरी एकैसाथ पाँच कृति सार्वजनिक भएको थियो ।

“मेरा यी पाँच कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु, यसले आश्रमको सेवालाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ”, डा कैनीले भन्नुभयो ।

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिकस्थलमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिसको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ । परामर्शका क्रममा परिवार भेटिएकाको पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया