बर्दिया, कात्तिक १२ : बर्दियाको बढैयाताल गाउँपालिका(५ रहेको बढैयाताल संरक्षण र सरसफाइको अभावले जलकुम्भी र लेउका कारण कुरुप बन्दै गएको छ । एक सय ८० बिघामा फैलिएको ताल स्थानीय सरकारले तालको सरसफाइ र संरक्षण गर्न नसक्दा कुरुप बन्दै गएको स्थानीय रामलाल थारुले बताउनुभयो ।
सदरमुकाम गुलरियाबाट झण्डै १६ किलोमिटरको पूर्व दिशातिर रहेको तालमा ३५ प्रकारका विभिन्न जातका माछा, ८० प्रकारका विभिन्न जातका चराचुरुङ्गी जसमध्ये छ प्रकारका विदेशी चरासमेत पाइने समाजसेवी सोमशरण यादवको भनाइ छ ।
विसं २०२० सम्म तीन सय बिघा क्षेत्रफलमा फैलिएको तालको क्षेत्रफल सरसफाइ र संरक्षणकै अभावका कारण खुम्चिँदै गएको स्थानीय सनै थारुले बताउनुभएको छ । स्थानीयवासी सञ्जय चौधरीका अनुसार ताल नजिक बाढी आउने गरेकाले थारु भाषामा ‘वाढ आइना’ भन्ने गरिएको र कालान्तारमा तालको नाम बढैयाताल रहन गएको हो ।
“तालमा सञ्चालनका लागि चार वटा डुङ्गा राखिएको छ तर पानीमाथि झार भरिएकाले चलाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “पर्यटकीय सम्भावना बोकेको ठाउँलाई सरसफाइ र संरक्षण नहुँदा लाभ लिन सकिएको छैन ।”
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीले अब छिट्टै तालको सरसफाइ गर्ने, तालको वरपरको सडक कालोपत्रे गर्ने, तीन फिट अग्लो पर्खाल निर्माण गर्ने योजना रहेको बताउनुयो । उहाँले तालको सरसफाइसँगै चराको वासस्थान, वनभोजस्थल निर्माणदेखि बस्ने कुर्सी र बिजुलीको व्यवस्था गर्ने योजना गाउँपालिकाले बनाएको जानकारी दिनुभयो






