काठमाडौँ, कात्तिक ४ : सर्वोच्च अदालतले रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुुक्त इजलासले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिएपछि उम्मेदवारी खारेज हो ।
आदेशमा भनिएको छ, “कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन ।”
उम्मेदवार गुरुङ कर्जा सूचना केन्द्रको २०७४ सालमा कालोसूचीमा रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने अदालतले आदेश गरेको हो । रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आज दुवै पक्षको छलफलबाट गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।






