व्यावहारिक शिक्षाका लागि ‘क्लोज क्याम्प’

  कार्तिक ०३, २०७९

घोराही, कात्तिक ३ : घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी घोराहीमै जन्मिनुभयो, बजारमै हुर्किँदै हुनुहुन्छ । करिब १४ वर्षीय उहाँले अहिलेसम्म खाना पकाउनुभएको छैन, न त आफ्ना कपडा धुने काम गर्नुभयो । विद्यालय तथा घरपरिवारबाट घुम्न, पिक्निकका लागि पार्क, धार्मिक मन्दिरमा जाँदा गाउँहरुमा पुग्ने गरे पनि सहरदेखि टाढा जङ्गलमा रहेको गाउँमा रातै बिताउनुभएको थिएन ।

तर विद्यालयले दशैँ तिहार बिदाको अवसरमा विद्यार्थीलाई ग्रामीण जीवनको महत्वसँगै कितावमा पढाएका कुराहरुको व्यावहारिक ज्ञान गराउने उद्देश्यले दाङको पहाडी गाउँपालिका बगलाचुली– २ को मर्पेसडाँडामा क्लोज क्याम्पमा लगेपछि खाना कसरी बनाउने, खाना पकाउनका लागि आवश्यक सामग्री कसरी जुटाउनेदेखि ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसहरुले दैनिकी कसरी चल्दोरहेछ भनेर बुझ्ने अवसर प्राप्त गरेको श्रेषले बताउनुभयो ।

घरमा खाना पकाउने, कपडा धुने काम गरेको थिएन तर यहाँ साथीहरुसँग मिलेर पकाउनेदेखि पहाडी क्षेत्रका मानिसहरुको दैनिकी कसरी चल्दै छ भनेर बुझ्ने अवसर प्राप्त गरेको छु । ‘अहिले क्लोज क्याम्पमा साथीहरु मिलेरसँगै खाना पकाउनेदेखि पकाउन लागि दाउरा, पानी, तरकारी खोज्ने काम गर्छौ’,उहाँले भन्नुभयो,‘त्यो त्यसरी काम गर्दा बचेको समयमा किताबहरु पढ्ने र खेलहरु खेल्छौं ।’ जसले गर्दा आफूहरुलाई समयको महत्वसँगै ग्रामीण जीवनलाई नजिकबाट चिन्ने अवसर मिलेको उहाँले बताउनुभयो ।

त्यसैगरी कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुभेच्छा पौडेलले आफूहरुका लागि ग्रामीण जीवनको अनुभवसँगै आफू जस्ता बालबालिकाले कसरी अध्ययन गर्दारहेछन् भनेर बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले गाउँमा बस्दा समयको महत्वसँगै बिहानदेखि साँझसम्म कसरी जीवनयापन गरिँदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताउनुभयो ।

‘मेरो घरमा पढ्ने मात्रै काम हुन्छ । घरमा खाना पकाउनेदेखि सरसफाइको काम ममीले गर्नुहुन्छ’, सुभेच्क्षाले भन्नुभयो ,‘विद्यालयले जङ्गलमा क्लोज क्याम्पमा लग्दैछ भन्दा जान दिनुभएको थिएन । तर आफूसँगै सरहरुले  सम्झाएपछि घरबाट आउन दिनुभयो । अहिले खुशी लागेको छ । यहाँबाट धेरै कुराहरु सिक्ने अवसर पाएको छु ।’

उहाँहरुसँगै विद्यालयले घोराही बजारदेखि करिव १२ किलोमिटर टढाको जङ्गलमा राखेको क्लेज क्याम्पमा २३ जना विद्यार्थीहरु बस्दै आउनुभएको छ । त्यहाँ बिहान ५ बजेदेखि साझ ७ बजेसम्म घरमा गरिने सवै प्रकारका कामहरुसँगै बालबालिकाहरुले जीवनउपयोगी शिक्षा लिने काम गरिरहेको विद्यालयका सह–प्राचार्य मुकुन्द गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार विद्यालयले प्रत्येक वर्ष कक्षा ९ मा अध्ययनरत बालबालिकालाई जीवनोपयोगी शिक्षासँगै समयको महत्व र ग्रामीण जीवनको ज्ञान गराउने उद्देश्यले २०७५ सालदेखि विद्यार्थीहरुलाई जङ्गलमा क्लोज क्याम्प आयोजना गरेर लग्र्दै आएको छ ।

‘विद्यार्थीहरु कितावी ज्ञानसँगै व्यावहारिक शिक्षा आवश्यक छ । त्यही सिकाउने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष यही समयमा विद्यार्थीहरु क्लोज क्याम्पमा आउने गरेका छन्’, उहाँले भन्नुभयो,‘ यसरी विद्यार्थीहरु करिब साता बस्ने गरेका छन् ।’ उहाँका अनुसार विद्यार्थीहरुसँगै शिक्षकहरुको पनि क्लोज क्याम्पसमा सहभागिता हुने गरेको छ । सधैं विद्यालय र घरमा मात्रै पढिरहने बालबालिकालाई यसरी जङ्गलमा ल्याएर पढाउँदा उनीहरु समेत उत्साहित हुने गरेको सहप्राचार्य गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया