प्रहरीलाई अब छिट्टै प्रदेश मातहत ल्याइन्छ : मुख्यमन्त्री शाही

  असोज ३१, २०७९

सुर्खेत, असोज ३१ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल प्रहरीलाई प्रहरी प्रदेश मातहतमा ल्याउने गरी काम भइरहेको बताउनुभएको छ । नेपाल प्रहरीको ६७औँ प्रहरी दिवसका अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा सोमबार आयोजित विशेष कार्यक्रममा उहाँले नेपाल प्रहरी अब छिट्टै प्रदेश मातहत आउने बताउनुभयो ।

नेपाल प्रहरीलाई प्रदेश मातहतमा ल्याउन केही ढिलाइ भइरहेको भन्दै उहाँले अब भने प्रदेश मातहतमा ल्याउन ढिलाइ नहुने बताउनुभयो । नेपाल प्रहरी जनतासँग सँगै हुने भएकाले प्रहरीलाई जनताको पहिलो सारथि नेपाल प्रहरी नै रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

उहाँले कर्णालीमा आएको बाढीपहिरामा रातदिन नभनेर काम गरेको भन्दै नेपाल प्रहरीको प्रशंसा गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री शाहीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै अमर प्रहरी परिवारलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मानसमेत गुर्नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया