बाढीको भेलमा गाउँ डुब्यो, डुङ्गाबाट उद्धार गरिदै

  असोज २१, २०७९

देउखुरी, असोज २१ : लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई  डुवान पारेको हो । उद्धार कार्य जारी रहेको छ ।

५० जनाभन्दा बढी गाउँबासी बाढीमा फसेका छन् । डुङ्गाबाट उद्धार गर्ने काम भइरहेको  शसस्त्र प्रहरी बल २९ नं गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिनुभयो । अहिले शसस्त्र प्रहरी र नेपाली सेनाको गरी दुई वटा डुङ्गा उद्धारमा परिचालन गरिएको छ । थप डुङ्गासहितको तालिम प्राप्त जनशक्ती माग गरिएको उद्धार टोलीका सदस्यले बताएका छन् ।

आज दिउँसोदेखि उद्धारको काम शुरु गरिएको थियो । अहिलेसम्म भेलमा फसेका १३ जनाको उद्धार गरिएको र बाँकीको पनि उद्धार कार्य जारी रहेको टोलीले जनाएको छ । उद्धारका लागि हेलिकप्टर माग गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसकेको बताइएको छ ।

भेलमा फसेकाहरु घरको छत, रुखमा चढेर ज्यान जोगाउन बाध्य भएका छन् । लगातार बर्षा भइरहेको र पानीको बहाव नघटेका कारण उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ । भेलमा फसेका सबैको उद्धार गर्न रातभरी समय लाग्ने उद्धारमा सहभागी एक प्रहरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया