बजारमा सिटामोल अभाव : के गर्दै छ सरकार ?

  असोज ०१, २०७९

काठमाडौं, असोज १ : देशका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएका बेला बजारमा प्यारासिटामोलको अभाव देखिएको गुनासो आउन थालेको छ ।

विभिन्न व्यक्तिले काठमाडौं उपत्यकाभित्रै प्यारासिटामोल नपाएको सामाजिक सञ्जालमा लेखिरहेका छन् भने कतिपय सञ्चारमाध्यममा पनि त्यस्तै विवरण आएका छन् ।

सरकारी अधिकारी तथा निजी र सरकारी क्षेत्रका औषधि उत्पादकले पनि प्यारासिटामोलको अभाव देखिएको स्वीकार गरे । यद्यपि “एकाध दिनमै” अभाव अन्त्य हुने र “कृत्रिम अभाव” गरिएको भए “संलग्नलाई कारबाही गरिने” अधिकारीहरूको भनाइ छ ।

औषधि उत्पादक तथा विक्रेताले बजारमा अहिले प्यारासिटामोलको माग निकै बढेको बताएका छन् । उनीहरूका भनाइमा “बढेको माग धान्न औषधि उपलब्ध नहुँदा” प्यारासिटामोल अभावको अवस्था आएको हो ।

यद्यपि सरकारी अधिकारीले “मूल्य बढाउनुपर्ने” माग गर्दै आएका उत्पादकले “उत्पादन घटाएर” कृत्रिम अभाव गरेको हुनसक्ने गुनासो आइरहेको स्वीकारेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले “कृत्रिम अभाव उत्पन्न भएको हो/होइन भन्नेबारे अनुगमन गरिने” बताएका छन् ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्ज्वलजङ्ग पाण्डेले अभावको कारणबारे भने, “अप्राकृतिक मागका कारणले गर्दा यस्तो अभावको सिर्जना भएको हो ।”

“मानिसहरूले नपाइएला भनेर धेरै राख्न थालेकाले पनि यस्तो भएको हुनसक्छ ।” कतिपयले कृत्रिम रूपमा प्यारासिटामोलको अभाव देखाइएको हुनसक्ने बताइरहेका बेला उनले चाहिँ “उत्पादकले त्यस्तो नगरेको” दाबी गरे ।

पाण्डेले भने, “नेपालमा २०६४ सालमा गरिएको प्यारासिटामोल मूल्य समायोजन त्यसपछि भएको छैन। हामीले मूल्य समायोजन गर्नुपर्छ भन्ने माग गर्दै आएका हौँ, त्यस्तो भएको छैन ।”

“तर पनि उत्पादकले सामाजिक उत्तरदायित्व निभाउनका लागि घाटा खाएरै उत्पादन गरिरहेका छन् ।” उनले अहिले पनि सङ्घले उत्पादन बढाउन आफ्ना सदस्यहरूलाई भनेको र त्यसै अनुसार उत्पादकहरूले उत्पादन बढाइरहेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले उक्त औषधि अभाव भएको गुनासो आएपछि औषधि व्यवस्था विभागको समन्वयमा उत्पादन बढाउन पहल गरिएको बताए ।

“अभाव हुने अवस्था आउन नदिनका लागि हामीले आवश्यक कदम चालिसकेका छौँ,” उनले भने । कृत्रिम अभाव उत्पन्न गराइएको गुनासोबारे सोधिएको प्रश्नमा उनले भने, “कसैले त्यस्तो गरेको पाइए कानुन अनुसार कारबाही हुन्छ। अनुगमनको आवश्यकता देखियो भने त्यो पनि हामी गर्छौँ ।”

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले अभावको गुनासो आएपछि विभागले “उत्पादक र आयातकर्तालाई बोलाएर छलफल गरेको” बताए । “छलफलमा उहाँहरूले माग अनुसार पर्याप्त मात्रामा उत्पादन भइरहेको बताउनु भएको छ,” उनले भने ।

“महामारीका कारण सञ्चय गर्ने प्रवृत्ति बढेकाले यस्तो अवस्था आएको हुनसक्छ ।” यद्यपि उनले कसैले कृत्रिम अभाव गरेको पाइए कारबाही गर्ने चेतावनी पनि दिए ।

नेपालमा महामारीअघि वार्षिक रूपमा सातदेखि आठ करोड चक्कीसम्म प्यारासिटामोलको माग रहेको औषधि व्यवस्था विभागको भनाइ छ ।

महामारीका बेला भने तीन गुणासम्म माग बढेको जानकारहरूको भनाइ छ । अहिले पनि वार्षिक १० करोड चक्की जतिको माग रहेको औषधि उत्पादकहरू बताउँछन् ।

विभागका अनुसार नेपालमा ३२ वटा उद्योगले प्यारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तर सक्रिय रूपमा उत्पादन गर्ने कम्पनी सात/आठ वटा मात्र रहेको विभागले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गर्ने गरेको छ । लिमिटेडका अधिकारीहरूका अनुसार मागको करिब २० प्रतिशत लिमिटेडको उत्पादनले धान्छ ।

अहिले विदेशबाट भने नेपालमा प्यारासिटामोलको खासै आयात नभएको अधिकारी र व्यवसायीको भनाइ छ । नेपालमा करिब तीन दर्जन आयातकर्ताले प्यारासिटामोल प्रकृतिका औषधि आयातको अनुमति पाएका छन् ।

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले हाल “न्यून” मात्र उत्पादन गरिरहेको लिमिटेडका सूचना अधिकारी टिकाराम अर्यालले बताएका छन् ।

“अहिले हाम्रो उत्पादन बन्दै चाहिँ छैन तर कच्चा पदार्थ ल्याउने क्रम जारी रहेकाले न्यून मात्रामा भइहरेको छ,” उनले भने, “हामीले कच्चा पदार्थ झिकाइसकेका छौँ। आगामी सातादेखि हाम्रो पूर्ण क्षमतामा उत्पादन सुरु हुन्छ ।”

उनले पनि प्रतिचक्की एक रुपैयाँका दरले बिक्री गर्नेगरी सिटामोल उत्पादन गर्न सकिने अवस्था नभएको दाबी गरे । तर उनले अहिले महामारीका बेलामा उत्पादन बढाएर आभाव पूर्ति गर्न लागिपरेको बताए ।

नेपालमा डेङ्गीको अवस्था
स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्षायाम सुरु भएयता देशका ७५ वटा जिल्लामा डेङ्गी देखिएको छ । गत वर्ष माघयता नेपालमा ११ हजार ६५ नमुनामा डेङ्गी सङ्क्रमण देखिइसकेको छ ।

त्यसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ८ हजार ३ सय ९० नमुनामा डेङ्गी देखिएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए । नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गीको सङ्क्रमण देखिएयता सबैभन्दा धेरै सन् २०१९ मा झन्डै १८,००० जनालाई देखिएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया