कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह

  भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले, डेङ्गु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुनु र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ ।”

डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेङ्गुको बढ्दो सङ््क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उहाँले बताउनुभयो ।

मन्त्रालयले डेङ्गु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ । मन्त्रालयले डेङ्गु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित परार्मश बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया