बर्तालुलाई चिकित्सकको सुझाव- ‘अपाच्य होइन, पोसिलो खाने कुरा खानुस्’

  भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन् । तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ ।

तीज प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन् । व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ । जो स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

“भोक नलाग्दै पटकपटक खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ”, चिकित्सक प्रदिप चालिसे भन्नुहुन्छ । हिजोआज तीज आउनुपूर्व नै गरिष्ठ भोजन गर्ने प्रचलन बढ्दै गएको छ । मीठो मसिनो खाने अवसरका रुपमा धेरै चिल्लो पदार्थ प्राप्त हुने माछा, मासु तथा अन्य बजारमा पाइने अखाद्य मिठाइ एवं पेयपदार्थ स्वास्थ्यका लागि लाभदायक छैन । चिकित्सक भूषण श्रेष्ठ तीजमा अस्वस्थ र अपाच्य खाना नभइ ताजा दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी र दुग्धजन्य पदार्थ अवलम्बन गर्नु स्वास्थ्यका लागि हितकार हुने बताउनुहुन्छ ।

प्राचीन हिन्दू नारीले तीजमा वर्षदिनभर साचेर राखेका बास्नादार चामल–मालभोग, कालोमसिनो, बास्मती, मनसुली, बुढोसुवालगायतका जातका चामल र दूध मिसाएर तयार पारिने खिर तथा ढकनी खाने चलन थियो । अहिले ताजा, दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी खाने चलन क्रमशः कम हुँदै गए पनि गाँउघरमा अझै पनि खिर खान नै बढी रुचाउँछन् । त्यसैले बजारमा अघिपछिको भन्दा धेरै दूधको माग भएको छ ।

विश्वमा खिर खाने प्रचलन १४औँ शताव्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुआत छिमेकी मुलुक चीनबाट भएको अनुमान छ । हाल खिर विश्वका प्रायःजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बङ्गालादेशमा पायस, श्रीलङ्कार्मा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ ।

खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढीमात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइन्छ । खिर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यकपर्ने सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने हुनाले खिर उपयोगी सिद्ध भएको छ । खिर दूधबाट तयार पारिने पदार्थ हो । तीजमा खिर खाने चलन भएकाले बजारमा दूधको अभाव हुने भएको दुग्ध विकास संस्थानका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

संस्थानले उपत्यकामा प्रतिदिन ७० हजार लिटर दूध, पाँच हजार लिटर दही बिक्री गर्दै आएको छ । तीजको आसपासमा उपत्यकाका लागि एक लाख १५ हजार लिटर दूधको माग भए पनि संस्थानले ८५ हजार लिटर मात्र उपलब्ध गराउनसक्ने जनाएको छ ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यस वर्षको तीजमा १५ प्रतिशत दूध पु¥याउन नसक्ने जानकारी दिनुभयो । मुलुकभर कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको र त्यसमध्ये हाल ३१ लाख लिटर दूध बजारमा खपत भइरहेको तथा तीजको समयमा झन्डै पाँच लाख लिटर दूध पु¥याउन मुस्किल पर्ने जानकारी दिनुभयो ।

दूध मानव जीवनका लागि अति उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मेपश्चात् आमाले दूध सेवन गराउने सर्वविदितै छ । दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई आवश्यक तत्व पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो ।

नेपालको खाद्य नियमावलीअनुसार (मानक प्रशोधित) दूधमा तीन प्रतिशत चिल्लो, चार दशमलव शून्य सात सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । (रासस)

तपाईको प्रतिक्रिया