काठमाडौँ, ७ कात्तिक : वेस्ट इन्डिजका क्रिकेटर शेरफन रदरफोर्ड तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यस्तै, जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई टोलीमा अनुबन्ध गरेको छ ।
सुदूरपश्चिम रोयल्सले रदरफोर्डलाई टोलीमा आबद्ध गरेको औपचारिक जानकारी दिएको छ । टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार रदरफोर्डको आक्रामक ब्याटिङ र फ्रेन्चाइज क्रिकेटको अनुभवले यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ ।
२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले वेस्ट इन्डिजबाट ३१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८७३ रन र ६१ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२३ रन बनाएका छन् ।
यसैगरी, जनकपुर बोल्ट्सले २४ वर्षीय पाकिस्तानी तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ । उनले पाकिस्तानको घरेलु क्रिकेटसँगै पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा खेलिसकेका छन् ।
साहले सन् २०२६ को पिएसएलमा १० खेलमा १७ विकेट लिएका थिए । त्यस्तै, यसै वर्षको सिपिएलमा जमैका किङ्समेनबाट खेल्दै १३ खेलमा १६ विकेट लिएका उनी प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए ।
एनपिएलको तेस्रो संस्करण आगामी सोमबारदेखि काठमाडौँमा आयोजना हुन गइरहेको राससले जनाएको छ ।






