पुजिए करिब आठ हजार कन्या (फोटो फिचरसहित)

  भदौ ०३, २०७९

काभ्रेपलाञ्चोक, भदौ ३ : काभ्रेपलाञ्चोकको बनेपामा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा कन्याहरुको पूजा गर्ने प्रचलन रहेको छ ।

विगत १२० वर्षदेखि बनेपालीहरुले सनातन कन्या पुजा प्रबन्ध समितिमार्फत कन्याको पूजा गर्दै आएका छन् । शुक्रबार बनेपामा आयोजना गरिएको कन्या पूजामा करिब आठ हजार कन्या पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

उहाँले कन्याहरुको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वासका साथै पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्वासले हरेक वर्ष कन्याको पूजा गर्ने प्रचलन रहेको बताउनुभयो ।

उहाँले कन्याको पूजाका साथै उनीहरुलाई प्रसाद स्वरुप समितिले स्वारी र पुरी प्रदान गर्दछ भने अन्य व्यक्तिहरुले पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटीलगायतका खानेकुरा दिएर कन्याहरुको पूजा गर्ने बताउनुभयो ।

बनेपाका कन्याहरुलाई चण्डेश्वीको सन्तानको रुपमा मान्ने भएकाले कन्याहरुको पूजा र्ने प्रचलन बसेको हो । सुरुमा बनेपाका नेवार समुदायका कन्याहरु पुजिने प्रचलन रहे पनि पछिल्लो समय बनेपाका साथै अन्य स्थान र जिल्लाका कन्यासमेत पुजिँदै आएको छ ।

बनेपालीहरुले वि.सं. १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएको समितिका सचिव बैद्यले बताउनुभयो । कन्या पूजा गरिँदै आएको १२० वर्षे इतिहासमा कोरोना सङ्क्रमणका कारण २०७७ र २०७८ सालमा दुई वर्ष कन्या पूजा रोकिएको थियो ।

बनेपाको भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरु हुने गर्दछ । बनेपाको भित्रीबजारदेखि चारदोबाटोसम्मको दायाँबायाँ सडकमा राखेर कन्याहरु पुजिने प्रचलन रहेको छ ।

भोलाखाँ टोलबाट सुरु भएको पूजा चारदोबाटो हुँदै लायकु दरबारसम्म पुग्ने गर्दछ । बनेपाका नेवार समुदायका एक व्यक्तिलाई धेरै दुःख भएपछि उनले आफ्नो घरमा रहेका कन्यालाई घरको बुईगलमा राखेर पूजा गरेको किंवदन्ती रहेको छ ।

कृष्ण जन्माष्टमीको अवसरमा बनेपाको साथै काभ्रेको बनेपाको बुडोल, भैंसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र खड्पु, पनौतीमा समेत सयौँ कन्याहरु पुजिएका छन् ।

 

तपाईको प्रतिक्रिया